समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खस्ने र पाठेघरको क्यान्सर पिडित महिलाहरुको खोजी सुरु गरेको छ। नगरपालिकाभित्रका महिलाहरुलाई लक्षित गर्दै विशेष शिविरको आयोजना गरेरै महिलाहरुमा लुकेर रहेको पाठेघर खस्ने समस्या र पाठेघरको क्यान्सर भए/नभएको खोजी सुरु गरेको हो।
आईतबार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पाठेघर खस्ने समस्या भएका महिलाहरुको लागि निःशुल्क शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्दै पिडित महिलाहरुको खोजी गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए। शिविरमा पाठेघर खसेका महिला भेटिएमा तत्काल रिङ प्रेसरी राखेर उपचार गरिने र ३० वर्षदेखि ६० वर्षसम्मका महिलामा पाठेघरको क्यान्सर भए/नभएको भिआईए प्रविधिबाट जाँच गरिने छ।
बाहुनीडाँडाको एक दिने शिविरमा पाठेघर खसेका ८ जना महिलाको रिङ प्रेसरी राखेर उपचार गरिएको छ। भिआईए प्रविधिबाट ३२ जना महिलामा पाठेघरको क्यान्सर भए/नभएको जाँच गर्दा १ जना महिलाको रिङ राखेर उपचार नहुने र अपरेशन गर्नुपर्ने भएकाले यातायात खर्च दिएर बाहिर रिफर गरिएको छ। अन्य ३१ जना महिलाको पाठेघरको अवस्था सामान्य रहेको छ।
सोही प्रकृतिको शिविर सोमबार मंगलटार स्वास्थ्य चौकीमा, मंगलबार सल्ले स्वास्थ्य चौकी र बुधबार सहरी स्वास्थ्य केन्द्र नवलपुर अर्खौलेमा सञ्चालन हुनेछ। शिविरबाट पाठेघरको क्यान्सर भएको महिला भेटिएमा उनीहरुलाई काठमाण्डौ, बिराटनगर, धरान लगायत पायक पर्ने स्थानमा पठाउँने र यातायात खर्च वापत प्रतिव्यक्ति ५ हजार रुपैयाँ दिने प्रावधान रहेको स्वास्थ्य संयोजक आचार्यले बताए।
पाठेघर खसेका महिलाहरुले आफ्नै गाउँठाउँमा उपचार पाएपछि खुशी भएका छन्। भिआईए प्रविधिबाट पाठेघरको क्यान्सर भए/नभएको जाँच गराउन पाएपछि मनमा रहेको अनेकौ शंका, उपशंका हटेको शिविरमा आई सेवा लिएका महिलाहरुले बताएका छन्। यस्तै, शिविरकै अवसरमा महिलाहरुका लागि लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनहरु निःशुल्क वितरण गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology