समायोजन खबर खोटाङ,ठेकेदारले पुल नबनाउँदा जनतालाई शास्तमाथि शास्ती हुने गरेको छ। सम्झौता अनुसार चार वर्षमा सक्नुपर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमाथिको आर्च डिजाइनको पुल नौ वर्षपछि पनि नबन्दा जनतालाई आवतजावत गर्न र दैनिक खाद्यान्न ढुवानीमा शास्ती भएको हो।
पुलको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी लथालिङग पारेर जनतालाई पटक–पटक शास्ती दिईरहेका छन्। सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि १ सय २० मिटरको आर्च डिजाइनको पुलको ठेक्का पारेको जेभीले पुल बनाउनुको सट्टा लथालिङग पारेका हुन्। जनतालाई दुःख दिएका हुन्।
सम्झौता अनुसार जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन। पहिलो म्याद गुजारेको जेभीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेर पनि काम गरेन। अहिले कोभिडका कारणले २०७८ चैत ३० गतेसम्म म्याद थप भएको छ।
सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा ४ वर्षमा सक्नुपर्ने पुलको काम ९ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको छ। कोभिडको बहाना र ठेकेदारको मुख्य लापारबाहीले पुलको कामै नभएको हो। ठेकेदारले पटक–पटक काम नगरी पुल अलपत्र पार्दा पनि सम्बन्धीत निकायहरु भने मौन बसेको पाईन्छ।
जिल्लालाई तराईसँग जोड्ने मूलद्धारको रुपमा रहेको पुल बनाउनमा स्थानीय प्रशासन, राजनीतिक दल, सरोकारवालाले ठेकेदारलाई दबाब दिएको अहिलेसम्म देखिएको छैन। नियमक निकाय नहुंदा ठेकेदारलाई नौ वर्षसम्म आराम मिल्यो। चार वर्षमा सक्नुपर्ने पुलको काम नौ वर्षमा ६० प्रतिशत भएको साइड इन्चार्ज मदन मगरले दाबी गर्नुभयो।
नौ वर्षपछि कछुवा गतिमा काम
नौ वर्षपछि भने साइडमा आर्चको सामान झारेर ठेकेदारले कछुवा गतीमा काम सुरु गरेका छन्। पुलको काम हेर्दै आएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका ईन्जिनियर अजय कुमार शाहका अनुसार अहिले आर्चको फर्मा लगाउने काम भईरहेको छ। आर्चमै बढी पैसा हुन्छ। आर्च लगाउँदैछ। आर्च लगाएपछि त काम नगरे बाढीले बगाईदिन्छ। ईन्जिनियर शाहले भन्नुभयो, ‘जसरी पनि काम सकाउनुपर्छ तपाईहरु ढुक्क भए हुन्छ। आर्च लगाएपछि हामीभन्दा उहाँहरु बढी काममा तातिनु हुन्छ।’
आर्च ब्लक फाउण्डेसनको काम सकेर वारीपारी २०/२० मिटर स्ल्याब ढलान गरिसकिएको जेभीका ईन्जिनियर नरेश भगतले बताउनुभयो। आवश्यक सबै सामानहरु साइडमा झरेको छ। ४०/४५ दिनमा आर्चको फर्मा लगाई सक्छौ। भगतले भन्नुभयो,‘आर्चको काम सकेपछि ८० मिटर स्ल्याब ढलान गर्छौ, त्यति गरेपछि पुलको काम सकिन्छ। अहिले धमाधम आर्चको फर्मा लगाईरहेका छौ।
आर्चको फर्मा घिर्नीबाट पारी लगिदै।
’वारी २५० र पारी २५० मिटर एप्रोच रोड पनि बनिसकेको र फाइनल गर्न बाँकी रहेको छ। वर्ष दिनमा पुलको काम सकिने भगतको दाबि छ। पुलको काम लथालिङ बनाउने जेभीका आधिकारीक प्रतिनिधि रामकुमार थापालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहदैैनन्। ठेक्का लिने र साइड अरुलाई जिम्मा दिएर काठमाण्डौमा बसोबास गर्ने जेभीका प्रतिनिधि थापाका कारण राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परिरहेको छ।
पुलको ठेक्का पारेको थापाले बेलैमा पुल नबनाउँदा बन्दै गरेको पुल नजिकै वर्षेनी लाखौ रकम खर्चेर अस्थायी बेलिब्रिज लगाइदैै आईएको छ। योवर्ष मात्रै सडक विभागले पुस १ गते ७८ लाख बजेटमा ५० मिटरको बेलिब्रिज जडान गरेको छ। गतवर्ष ८४ लाखमा रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको थियो। थापाले नदिमाथि बेलैमा पुल निर्माण नगरेपछि सवारीसाधनलाई कोशी वारपार गर्न नदिमा पानी घटेपछि बेलिब्रिज राख्ने र पानी बढेपछि फुकाल्ने गरिदै आएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology