समायोजन खबर, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दैगर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए ।
नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः दुईवटा सन्देश दिएका छन्।
विगतका पटकपटकका भाषणमा ‘केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्दैन’ भन्दै आएका उनले आजको पत्रकार सम्मेलनमा ‘अनुकूल समयमा मात्र नेतृत्व हस्तान्तरण’ गर्ने घोषणा गरेका छन्।
मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनको अर्को सन्देश छ– माधव नेपालहरू गइसकेपछि महाधिवेशनअघिसम्मका लागि माओवादी केन्द्रबाट आएका, माधव नेपाललाई छाडेर आएका र विगतदेखि आफैसँग रहेका नेताहरूलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्ने।
१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न कार्यदल बनाएर विगतमा नेपालसँग रहेका १० जना स्थायी कमिटी सदस्यहरूसँग समन्वयकारी भूमिका निभाउने उनको रणनीति देखिन्छ।
माओवादी केन्द्रवाट आएकाहरू हाल जिम्मेवारीविहीन भए पनि उनीहरूलाई रचनात्मक जिम्मेवारी दिने प्रतिबद्धता जनाएर रामबहादुर थापा बादलसहितका नेतासँग पनि तत्कालका लागि समन्वयकारी भूमिका निर्वाहको संकेत गरेका छन्।
तर, विगतमा उनी निकट मानिने नेता शंकर पोखरेलको अभिव्यक्तिले भने ओलीले भनेको उपयुक्त समय अर्थात् मंसिरमा हुने महाधिवेशनबाट उनले नेतृत्व सहज हस्तान्तरण गर्लान् भन्नेमा भने शंका जन्माएको छ।
पोखरेलले तीन दिनअघिमात्र एमाले अर्को एउटा निर्वाचन र एउटा पार्टीको महाधिवेशनसम्म ओलीकै नेतृत्वमा जाने घोषणा गरेका थिए। विश्वासपात्र भनिएका पोखरेलको यो अभिव्यक्तिको तीन दिनपछि ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताएर पोखरेलकै वाटोमा जाने संकेत त गरेका हैनन् भन्ने प्रश्न भने उब्जिएको छ।
माधव नेपालले एमाले छाडेपछि ओलीलाई चुनौती दिने नेता अहिलेका लागि पार्टीमा देखिएका छैनन्। ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलाई माधव नेपाललाई छाडेर आएका भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले विश्वास गर्ने सम्भावना निकै कम छ। त्यसैले पनि शंकर पोखरेलले अर्को एक आमनिर्वाचन र महाधिवेशनपछिसम्म ओली नै पार्टीको नेतृत्वमा रहने उद्घोष गरेका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology