समायोजन खबर खोटाङ, प्रभु बैंकले वडा कार्यालय नेर्पालाई लाखौको स्वास्थ्य सामग्री सहयोग गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई काठमाण्डौ बसोबास गर्दै आउनुभएका राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी रबिन चाम्लिङको पहलमा प्रभु बैंकले स्वास्थ्य सामग्री सहयोग गरेको हो।
बैंकबाट प्राप्त भएको २० हजार थान सर्जिकल माक्स, एक सय वटा स्यानिटाईजर, ३० वटा अक्सिमिटर, २० सेट पिपिई र २० वटा फेस सिल्ड जस्ता स्वास्थ्य सामग्री राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी चाम्लिङले नेर्पाका वडाध्यक्ष माधब राईलाई हस्तान्तरण गरेका छन्। शनिबार वडा कार्यालय नेर्पामा दुरी कायम गरि कार्यक्रम गरेर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो। काठमाण्डौबाट स्वास्थ्य सामग्री लिएर चाम्लिङ, एपिवान टेलिभिजनका समाचार वाचक मनोज जोशी, अखबार टाईम्सका संवाददाता मनिस ढकाल, समाजसेवी शुभकाजी राई जिल्ला आएका हुन्।
हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, वडा सदस्य चित्रकुमार राई, कालिका माविका प्रधानाध्यापक वेदिकुमार राई, सहायक प्रधानाध्यापक कृष्ण बहादुर गुरुङ, जनता आधारभुत विद्यालयका प्रधानाध्यापक झमप्रसाद आचार्य, निरौले प्राविका प्रधानाध्यापक पवन राई, समाजसेवी प्रेम बहादुर राई, हर्क बहादुर पराजुली, स्वास्थ्य प्रमुख लगायतको उपस्थिती थियो।
गाउँमा कोरोना महामारी फैलिएको खबर पाएपछि स्वास्थ्य सामग्रीको लागि प्रभु बैंकसँग प्रस्ताव गर्ने वितिक्कै साढे चार लाख बराबरको स्वास्थ्य सामग्री बैंकले सहयोग गरेको राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी चाम्लिङ बताए। प्रभु बैंकले एकै वचनमा साढे चार लाखको स्वास्थ्य सामग्री र गाडी उपलब्ध गराईदिएको थियो। चाम्लिङले भने, ‘माक्स मात्रै ३० हजार छ, नेर्पालाई २० हजार माक्स र अन्य स्वास्थ्य सामग्री दिएका छौ बाँकी माक्स तथा अन्य स्वास्थ्य सामग्री जालपा, नुनथला र विजयखर्कमा बाँड्ने तयारी गरेका छौ।’
महामारीको विषम परिस्थितीमा स्वास्थ्य सामग्री र गाडी उपलब्ध गराईदिएर दुर दराजका जनतालाई बचाउन सहयोग गरेकोप्रति समाजसेवी चाम्लिङसहित समग्र नेर्पाबासीले प्रभु बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्।
प्राप्त स्वास्थ्य सामग्री मध्येमा संक्रमित नभएको प्रत्येक घरमा २५ थान माक्स वितरण गरिने, संक्रमित भएको घरमा २५ थान माक्स र स्यानिटाईजर वितरण गरिने तथा प्रत्येक टोल–टोलमा एक/एक वटा अक्सिमिटर वितरण गरिने वडाध्यक्ष राईले बताए। पछिल्लो समय नेर्पाको प्रायः घरमा कोरोना संक्रमित देखिएका छन्। हालसम्म १८१ जनाको एन्टीजेन परीक्षण गर्दा ७० जना संक्रिय कोरोना संक्रमित छन्। १ जना संक्रमितको निधन भएको वडाध्यक्ष राईले बताए।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडा शिल गरिएको र कालिका माविका प्रअ वेदिकुमार राईको संयोजकत्वमा संक्रमित तथा अन्यलाई मनोपरामर्श तथा सचेतना जगाउनका लागि १३ सदस्यीय समिति गठन गरिएको र उक्त समितिले दैनिक टोलटोल पुगेर मनोपरामर्श तथा सचेतना जगाउन काम गरिरहेको छ।
वडाले विभिन्न दाता तथा संस्थाहरुबाट जुटाएर प्रत्येक संक्रमित परिवारलाई साबुन, दुई केजी स्वास्थ्यवर्दक खानेकुरा वितरण गरिएको र हुंदै नहुने परिवारलाई चामल, दाल, तेल, नुन, सावुन वितरण गरिदै आएको वडाध्यक्ष राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology