समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम शुभारम्भ गरेको छ । सोमबार १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकाले उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमबाट पारित भएको बालिका बचत कार्यक्रमको हलेसी सूचना केन्द्रको प्राङ्गण हलेसीमा पूर्व जलस्रोत राज्यमन्त्री तथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले सोही नगरपालिका मंगलटारकी लिला कुमारी दमाईकी छोरी सुनिला परियारलाई बालिका बचत कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको नगरपालिकाले जनाएको छ ।
बालिका बचत कार्यक्रममा नगरपालिकाभित्र गएको साउनदेखी यता जन्मिएको विशेषगरी बालिकाहरुलाई तीन वर्षसम्म वार्षिक चार हजारका दरले रकम प्रदान गरिने व्यवस्था छ । यसका लागि नगरपालिका र हलेसीस्थित सालपा विकास बैंकविच सम्झौता भएको छ । सम्झौता अनुसार बालिकाको नाममा मुद्धती खाता खोलिने र आमा मात्रै हकवाला रहनेछ ।
स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, स्थानीय स्वास्थ्य संस्थाले नसकेको अवस्थामा कतै रिफर गरिएर सुत्केरी गराएर जन्मिएको बालिकालाई यस कार्यक्रमले सहयोग गर्ने हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताउनुभयो । लामो समय वाहिर बसेर आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा यो कार्यक्रम लागू हुने छैन ।
बालिका बचत कार्यक्रममा नगरपालिकाले बालिकाको बैंक खातामा ३ वर्षमा १२ हजार रुपैयाँ बैंकमा जम्मा गरिदिने छ । मुद्धती खाता भएकाले जन्मिएको बालिका १५ वर्ष पुगेपछि मात्र उक्त रकम निकालेर प्रयोग गर्न सक्छिन् । यसविचमा आमाबुबाले पनि छोरीको खातामा पैसा जम्मा गर्न सक्नेछ ।
समाजमा अझै पनि छोरीलाई हेर्ने नजर परिवर्तन नभएकाले यस्तो कार्यक्रम ल्याइएको हो । उपप्रमुख राईले भन्नुभयो, “यसले समाजमा छोरीलाई हेर्ने नजर परिवर्तन गर्छ कि भन्ने अपेक्षा छ ।”
नगरपालिकाको ११ वडामा वर्थिङ सेन्टर स्थापना गरेर सञ्चालन गरिएकोे, महिलाहरुका लागि विभिन्न सीप विकास तालिम प्रदान गरिएको तथा अन्य विभिन्न महिलामैत्री कार्यक्रम गरेर नगरपालिकाले महिलाहरुको जीवनस्तर उकास्नमा सहयोग गरिरहेको नगरप्रमुख इवन राईले बताउनुभयो । महिलामैत्री नगरपालिका घोषणा गरिने समेत नगरप्रमुख राईले बताउनुभयो ।
नगरपालिकाको यस कामले समग्र महिलाहरुको शिर उचो भएको र हौसला मिलेको पूर्व जलस्रोत राज्यमन्त्री मन्त्री तथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य उपाध्यायले बताईन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology