समायोजन खबर खोटाङ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ ।
उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताउनुभयो ।
“मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उहाँले भन्नुभयो ।
विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उहाँले सुनाउनुभयो । दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उहाँले सुनाउनुभयो । “पार्टीकै मानिस प्रत्यक्ष ११६ सिट जितेको आफ्नो नेतालाई हटाएर २३ सिट जितेको नेपाली कांग्रेसकामा निवेदन हाल्न गएका छन्”, समसामयिक विषयमा राजनीतिक टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताउनुभयो । “२२ वर्षका बीचमा व्यवस्था एवं सरकार परिवर्तन भएपनि मेलम्चीको सपना पूरा भएको छ, कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएको मेलम्ची आयोजना केपी शर्मा ओलीको पालामा सम्पन्न भएको छ, सुरुङमा पानी हालेर सफल परीक्षण भएको छ, चैत दोस्रो साता उपत्यकावासीका लागि मेलम्चीको पानी धाराबाट वितरण गरिन्छ”, उहाँले भन्नुभयो । मेलम्ची आयोजना सम्पन्न गर्न लाग्ने सबै पक्षलाई मन्त्री थापाले धन्यवादसमेत दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology