समायोजन खबर खोटाङ,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाभित्र पर्ने सबै (४८ वटा विद्यालय)का बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी सो कार्यक्रम शुरु गरिएको हो ।
खाजा अभावकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्ष्य गरेर शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको सःशर्त अनुदानबाट विद्यालयमा सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । “दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष गाउँपालिकालाई ८४ लाख २४ हजार बजेट उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्चबापत दैनिक जनही १५ का दरले विद्यार्थीलाई रकम उपलब्ध गराउने गरी कार्यक्रम शुरु गरिएको हो ।”
चार वर्षदेखि ९ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्व खाद्य सङ्गठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, आइरनजस्ता पोषकतत्वको मात्रा उपलब्ध गराउने गरी खाजाको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जङ्कफुडजन्य खाद्य पदार्थ भने प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।
सुक्ष्म पोषकतत्वतर्फ दैनिक १२० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७.८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ति गराउने, दैनिक ११.२ जिङ्क आवश्यकपर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बी’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४.१ पोषकतत्वको मात्रा पूरा हुने किसिमका खाजा उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिव्यक्ति दैनिक १५ का दरले नगद पाउने विद्यार्थीले बिदाको दिनको भने दिवा खाजाबापतको रकम पाउने छैनन् । यसअघि रावाबेँसी गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि दिवा खाजा कार्यक्रमलाई लागू गर्ने तयारी गरिरहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology