समायोजन खबर खोटाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताउनुभयो ।
उपाध्यक्ष प्रा डा कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिलाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडकलगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लावासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युत्को कामलाई द्रुत गति दिन आयोगका उपाध्यक्ष प्रा डा कँडेललाई ध्यानाकर्षण गराउनुभयो । जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापर्वाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउनुहुँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गर्नुभयो ।
प्राविधिक टोलीसहित अनुगमनमा निस्कनुभएका उपाध्यक्ष प्रा डा कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्नुहुँदै छिमेकी जिल्ला भोजपुर जानुभएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आउनुभएका उपाध्यक्ष प्रा डा कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम छ । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology