समायोजन खबर खोटाङ, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गर्नुभएको छ । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“उहाँहरु (प्रचण्ड–माधव) केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “कहिलेको महाधिवेशनबाट उहाँहरु बहुमतमा पुग्नुभयो ?” उहाँले प्रचण्ड–माधव समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकीर गर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्तावउपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताउनुभयो । उहाँले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताउनुभयो ।
उहाँले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाउनुभयो । “भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिले महान् अभियानलाई साकार रूप दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो, “पार्टीभित्र थाहा नपाएजस्तै गर्नुभयो ।” “नेपाल अहिले अन्तर्राष्ट्रिय समारोहमा आफ्ना आवाज बुलन्द गर्न सक्ने अवस्था पुगेको छ”, उहाँले थप्नुभयो ।
उहाँले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने बताउनुभयो । उहाँले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले सङ्गठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको बताउनुभयो ।२०७७ पुस १८ गते साँझ ७ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology