समायोजन खबर खोटाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताउनुभएको छ । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम)को आज उद्घाटन गर्दै जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुतरुपमा अगाडि वढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा, धर्म र संस्कृति संरक्षणको सङ्गठितरुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीको पहिचान हराउने धारणा व्यक्त गर्नुभयो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले चुल्ला हाम्रो मौलिक परम्परा हो भन्दै आफ्नो थलो छोडेर आएकाको व्यावहारिक समस्या सामूहिकरुपमा समाधान भएको बताउनुभयो । महानगर समितिका अध्यक्ष विष्णुकुमारी राईको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, सामाजिक अभियन्ता वसिम आलम र आदिवासी जनजाति महासङ्घ मोरङ अध्यक्ष दिलबहादुर थेवेलगायतले सरकारले सबै जातजातिको धर्म, संस्कृतिको सम्मान एवं संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर–११ स्थित तीन कट्ठा १५ धुर जग्गामा दुई तल्लो भवनमा एक सामूहिक चुल्हो (खिम), दुई सभा हललगायत पाँच बटा कोठा रहेका छन् । सङ्घीय सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु २५ लाख, प्रदेश नं १ सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले रु ६० लाख तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १० लागत तथा अन्य दाताको गरी रु एक करोड १० लाखमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो । सोही अवसरमा मुख्यमन्त्री राईले रु ४० लाख मूल्य बराबरको एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउने मेजर मानबहादुर राईलगायत अन्य दातालाई सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो । मुख्यमन्त्री राईले सञ्चारकर्मी नारायणभक्त राईद्वारा लिखित किरात राई समुदायको प्रथाजनित कानून पुस्तकको समेत विमोचन गर्नुभयो ।२०७७ पुस १५ गते साँझ ६ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology