समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।
‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उहाँले ती काम छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । उहाँले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।
आपत्कालीन अवस्थामा सहयोग गर्न रु एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो छ । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताउनुभयो । त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयो । छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
महासङ्घको जग भनेको जिल्ला शाखा भएकाले शाखा जति मजबुत हुन्छ, त्यति नै बलियो हुने भन्दै जिल्लालाई सबै अधिकार दिएर बलियो, जवाफदेही र जिम्मेवार बनाउने काममा केन्द्र लागिरहेको उहाँको भनाइ छ ।२०७७ पुस ३ गते बिहान ९ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology