• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मध्यपहाडी लोकमार्ग : चखेवाभञ्ज्याङ-दिक्तेल सडकको कालोपत्रे धमाधम

मध्यपहाडी लोकमार्ग : चखेवाभञ्ज्याङ-दिक्तेल सडकको कालोपत्रे धमाधम


समायोजन खबर
  • आइतबार, मंसिर २८ २०७७

  • दोर्पामा कालोपत्रे गरिदै ।

    समायोजन खबर खोटाङ, खोटाङमा कोरोना महामारीका कारण प्रभावित पुष्पलाल मध्यपहाडी लोकमार्गको कामले पुनः गति लिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडक कालोपत्रेको कामलाई निर्माण कम्पनीले अगाडि बढाएको हो ।
    कोरोना महामारीका कारण मध्यपहाडी लोकमार्गको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्ड कालोपत्रेका काम ठप्प भएको थियो । विभिन्न ५ भागमा विभाजन गरेर २०७२ चैतदेखि चखेवाभञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रे थालिएको थियो । चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डको ५ मध्ये चार खण्ड (सेखुवा–दिक्तेल ३६ किलोमिटर) को कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले गत असोजदेखि अवरुद्ध कामलाई सूचारु गराएको हो ।

    आगामी वैशाखसम्म काम सम्पन्न गर्ने कालोपत्रे भइरहेको रमन–गोल्डेन गुड जेभीका साइड ईन्चार्ज आङसाङ्गे शेर्पाले बताए । ‘कोरोना महामारीका कारण अवरुद्ध कामलाई असोजदेखि सुचारु गराएका छौँ,’ शेर्पाले भने, ‘लकडाउन नभएको भए कालोपत्रे यसअघि नै सकिन्थ्यो । अहिले रातीमा समेत काम गरिरहेका छौँ ।’

    रमन–गोल्डेन गुडको जिम्मामा रहेको पहिलो प्याकेज सेखुवा–पेलुङ (१० किलोमिटर) सडकमा हाल स्ट्रक्चरको काम भइरहेको छ । हालसम्म सेखुवा–पेलुङ खण्डको ५५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए । दोस्रोपल्ट थप भएको सेखुवा–पेलुङ खण्डको एक वर्षे म्याद आगामी ८ पुसमा सकिँदै छ । यस्तै, दोस्रो प्याकेज पेलुङ–दारुला (८ किलोमिटर) खण्डमा एक किलोमिटर कालोपत्र भइसकेको छ । अन्य भागमा सव–बेस, बेस, स्ट्रक्चरको काम भइरहेको शेर्पाले बताए । हालसम्म पेलुङ–दारुला खण्डको काम करिब ६५ प्रतिशत पूरा भएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । सो खण्डको तेस्रोपल्ट थप भएको म्याद आगामी २९ मंसिरमा सकिँदै छ ।

    तेस्रो प्याकेज दारुला–कालीखोला (९ किलोमिटर) खण्डमा ६ किलोमिटर कालोपत्रे भइसकेको छ । हालसम्म सो खण्डको करिब ८० प्रतिशत काम सकिएको छ । तेस्रोपल्ट थपिएको दारुला–माम्खा (कालीखोला) को म्याद गत ३० असोजमै सकिएको हो । चौथो प्याकेज कालीखोला–दिक्तेल (९ किलोमिटर) खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । हाल सो खण्ड मर्मतसम्भारको चरणमा रहेको साइड इन्चार्ज शेर्पाले बताए । ‘रमन–गोल्डेन गुडले जिम्मा लिएको चार वटै प्याकेजमा कालोपत्रे राख्न मात्र बाँकी छ,’ शेर्पाले भने, ‘आगामी वैशाख अन्तिमसम्म पूरा गर्ने गरी काम गरिरहेका छौँ ।’
    चखेवाभञ्ज्याङ–सेखुवाको काम सुस्त
    भरतमैनाचुली सिद्धिशाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) को काम भने सुस्त देखिएको छ । काममा ढिलासुस्ती गरेसँगै ठेक्का तोड्न सूचना निकालेपछि भने भरतमैनाचुली सिद्धिशाईले हाल काम सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

    हालसम्म सो खण्डको काम करिब २५ प्रतिशत मात्र पूरा भएको छ । ठेकेदारको ढिलासुस्तीका कारण सो सडक खण्डको म्याद ३० चैत २०७५ मै सकिएको थियो । सार्वजनिक खरिद (नवौं संशोधन) नियमावलीअन्तर्गत पहिलोपल्ट थप भएको सो खण्डको म्याद आगामी १३ पुसमा सकिँदै छ । ‘चखेवाभञ्ज्याङ–सेखुवाको काम वर्ष दिनदेखि भएको छैन,’ इन्जिनियर श्रेष्ठले भने, ‘सम्झौता तोड्न सूचना निकालेपछि बल्ल सुरु भयो । कम्पनीले २ वटा मेसिन झारेको खबर छ ।’ म्याद गुज्रेका सडक कालोपत्रेको काम कोरोना महामारीका कारण ६ महिना थप हुने उनको भनाइ छ ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल सडकको काममा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रेको गति र गुणस्तर सन्तोषजनक नभएको जनगुनासो रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । मध्यपहाडी लोकमार्ग तथा सो राजमार्गमा निर्माणाधीन पुलको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तर विषयमा प्रशासनले समेत बेलाबेला चासो देखाउँदै आएको छ ।२०७७ मंसिर २८ गते बिहान ९ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology