समायोजन खबर खोटाङ, सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको घट्ना सतहमा आइरहँदा हलेसी तुवाचुङ नगरपालिकाले तीन वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको छ । नगरपालिकाले ११ वटा वडाका लाभग्राहीलाई माछापुछ्रे बैंक, सालपा बिकास बैंक र सेञ्चुरी बैंकको शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणालीमा लैजानका लागि सोमबार नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले तीन बैंकसँग सम्झौता गरेका छन् । आगामी दोश्रो चौमासिकदेखि माछापुछ«े बैंक, सालपा बिकास बैंक र सेञ्चुरी बैंकले आ–आफ्नो क्षेत्रमा पर्ने वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन ्।
माछापुछ्रे बैंकबाट डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, धितुङ, अर्खौैले र राजापानीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । यस्तै, सालपा बिकास बैंकबाट बाहुनीडाँडा, मंगलटार र सल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ । सेञ्चुरी बैंकबाट महादेवस्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने नगरप्रमुख राईले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुछ्रे बैंकसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७६ साल असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको नगरप्रमुख राईले बताए । कोरोना महामारी सुरु भएपछि भने नगरपालिका आफैले सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ । ठूलो क्षेत्रमा एउटा बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नभ्याएकाले थप दुई वटा बैंकसँग सम्झौता गरिएको राईले बताए ।
बडहरेमा १७७, दुर्छिममा ३५९, मंगलटारमा २७४, महादेवस्थानमा ३६१, धितुङमा २४७, सल्लेमा १६८, अर्खौैलेमा ३३९ र राजापानीमा ३३१ जना सामाजिक सुरक्षा भत्ता पाउने सर्वसाधारण छन् । ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांग र दलित बालबालिकालाई पारदर्शी रुपमा चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरप्रमुख राईले बताए ।
यस्तै, केपिलासगढी गाउँपालिकाले पनि बैकिङ प्रणालीमाफर्त सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ । साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता व्यापक दुरुपयोग भएपछि जिल्लाका स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्तालाई पारदर्शी बनाउन बैकिङ प्रणाली अपनाउन थालेको हो ।२०७७ असोज २० गते अपरान्ह ३ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology