समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले अस्थाई कोभिड अस्पताल बनाउने तयारी थालेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले ५ शैयाको अस्थायी कोभिड अस्पताल बनाउने तयारी थालेको हो ।
चाडबाड नजिकीदै गएको तथा अन्तरजिल्ला सडक र हवाई यातायात सञ्चालन भइसकेकाले कोरोना संक्रमण समुदायस्तरमा फैलने खतरालाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नम्बर ६ ईन्द्रेणीपोखरी स्वास्थ्य चौकीमा अस्थाई कोभिड अस्पताल बनाउने तयारी थालिएको गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो ।
कोभिड अस्पताल बनाउन संघीय सरकारको १० लाख बजेट आएको छ । अस्पतालमा एमविविएस मेडिकल अधिकृत एक जना, स्टाफ नर्स दुई जना र एक जना सहयोगी रहनेछ । जनशक्ति व्यवस्थापनका लागि विज्ञापन समेत आव्हान गरिसकिएको अध्यक्ष राईले बताउनुभयो ।
नौ वडा रहेको यस गाउँपालिकामा हालसम्म कुनै कोरोना संक्रमित छैन । कोरोना भाइरसको संक्रमणबाट बच्न सबै वडामा क्वारेन्टिन बनाइएकोमा सुरक्षा दिन केही समस्या हुँदा अनुशासनहिनता बढेका कारण नौ वडाको क्वारेन्टिनलाई केन्द्रीकृत गरेर तीन स्थानमा मात्रै क्वारेन्टिन बनाइएको छ । जसअनुसार लिकुवापोखरी स्वास्थ्य चौकीमा १५, ईन्द्रेणीपोखरी स्वास्थ्य चौकीमा १५ र खोटाङबजार स्वास्थ्य चौकीमा २० बेडको क्वारेन्टिन बनाइएको छ ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेशी गाउँपालिकाले पनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै ५/५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । दिप्रुङले याम्खा स्वास्थ्य चौकीको भवन, हलेसीले दुर्छिम अथवा हलेसी एक स्थान र रावाबेशी गाउँपालिकाले कर्मचारी आवास गृहमा कोभिड अस्पताल बनाउने तयारी थालेको हो ।२०७७ असोज १६ गते बिहान ९ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology