चिसाङ शेर्पा खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । नेपाली नागरिकताको आधारमा गाउँपालिकाभित्र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको हो ।
२२ भदौबाट सुरु गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत शनिबार (आज) रावाबेंशी गाउँपालिका–५ दुवेकोलका छ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई जनही ५/५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिए ।
दुवेकोल वडा कार्यालयको प्राङगणमा रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले ९० वर्षीया नरमाया भुजेल, ९१ वर्षीया तिल कुमारी सार्की, ९२ वर्षीया धनकुमारी निरौला, ९२ वर्षीय समरजीत घले र ९३ वर्षीय मेख बहादुर गुरुङलाई दोसल्ला ओढाई सम्मान वापत पाउने नगद हस्तान्तरण गरेका छन् ।
यस्तै, ९४ वर्षीय राज बहादुर गुरुङलाई भने उहाँकै घरमा पुगेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गुरुङ हिड्डुल गर्न नसक्ने (अशक्त) भएकाले घरैमा पुगेर सम्मान गरिएको हो । प्रत्येक वडा कार्यालय परिसरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएका छौ । गाउँपालिका अध्यक्ष निरौलाले भने, “९० वर्ष पुगेका जो कोही ज्येष्ठ नागरिकहरु हिड्न नसक्ने अथवा बिरामी भएको भए उहाँको घरैमा पुगेर सम्मान गर्छौ ।”
यसअघि हौंचुरका ९४ वर्षीय लोक बहादुर श्रेष्ठ, ९१ वर्षीया फुर्दिकी शेर्पा, ९० वर्षीया ईन्द्रकुमारी कार्की, ९० वर्षीय कटक बहादुर बरुवाल, कुभिण्डेका ९८ वर्षीय खुसमान राई, ९५ वर्षीय हर्कराज राई, डुम्रेधारापानीका ९१ वर्षीय गंगा बहादुर मगर, ९१ वर्षीया नन्दमाया रिजाल, ९३ वर्षीय जगत बहादुर मगर, ९२ वर्षीय रुकमिडा खड्का, ९१ वर्षीया हस्तमाया मगर र १ सय वर्षीय ल्वाङ बहादुर तामाङलाई सम्मान गरिसकिएको छ ।
६ वटा वडा रहेको यस गाउँपालिकाले ३० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । यसपछि खार्पा र लामिडाँडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।२०७७ भदौ २७ गते साँझ ५ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology