समायोजन खबर खोटाङ, आज थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एकरएक जना गरी ६ जनाको राति ज्यान गएको हो ।
गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।
गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उहाँमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो ।
यस्तै किस्ट अस्पतालमा ज्यान गुमाएका व्यक्तिको बारेमा भने विवरण सङ्कलनको काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताए।
यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।
ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।
कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।२०७७ साउन २८ गते दिउँसो २ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology