• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलको बजेट ७६ करोड ९० लाख (बजेट बक्तब्यसहित)

दिक्तेलको बजेट ७६ करोड ९० लाख (बजेट बक्तब्यसहित)


समायोजन खबर
  • बुधबार, असार १० २०७७

  • नगरसभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै नगर उपप्रमुख विणादेबी राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि करीव ७७ करोड बजेट प्रस्तुत गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा नगरसभामार्फत ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
    नगर उपप्रमुख विणादेवी राईले प्रस्तुत गरेको बजेट अनुसार संघीय सशर्त कार्यक्रमतर्फ ४० करोड ८९ लाख, संघीय विशेष अनुदानबाट संञ्चालित आयोजनाहरुको लागि २ करोड, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तोकिएको आयोजनाहरुको लागि आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताईन् ।

    प्रदेश सशर्त कार्यक्रमतर्फ २ करोड ५१ लाख, चालुखर्च कार्यालय सञ्चालनतर्फ १२ करोड ८१ लाख ४० हजार ४७०, वडागत चालुखर्च १ करोड १६ लाख, संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधिन र निर्माण हुने नयाँ आयोजनाहरुका लागि ५ करोड ५७ लाख, आर्थिक वर्ष २०६७/०७७ मा अनुमानित आन्तरिक राजश्व र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम न्युन हुन गई सिर्जित दायित्वको भुक्तानी दिन २ करोड विनियोजन गरिएको छ ।
    यस्तै, अन्य विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट बक्तब्य तल हेर्नुहोस ।

    विषयगत विनियोजन तर्फ

    1) आर्थिक विकास

    कोरोना भईरसले गर्दा विश्व आक्रान्त भईराखेका बेला स्वदेशी उत्पादन अपुग भई खाद्य संकट आउन सक्ने भएको हुँदा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै “आफ्नो गाउं-कृषिमा आत्मनिर्भर बनाउं” भन्ने नीति अबलम्बन गरिएको छ। वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गर्दै उद्योग व्यापार तथा सेवा क्षेत्रलाई सक्षम वनाउने उद्देश्य लिईएको छ।

    • कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत रु. 67 लाख 7 हजार विनियोजन गरेको छु।
    • कृषि पकेट क्षेत्र घोषण गर्ने कार्यक्रमलाई निरन्तरता दिई कृषिमूलक उत्पादन क्षेत्रमा “एक गाउं-एक पकेट कार्यक्रम” का लागि प्रत्येक वडामा रु. 10 (दश) लाख बजेट विनियोजन गरेको छु।
    • खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ सिंचाई आयोजनाहरूका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
    • वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूका लागि लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रबर्द्धन कार्यक्रमको लागि रू. 1 करोड 22 लाख विनियोजन गरेको छु।
    • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय आर्थिक विकास तर्फ रु. 1 करोड 67 लाख 89 हजार विनियोजन गरेको छु।

     2) सामाजिक विकास

    कोरोना भाईरसको संक्रमण न्यूनीकरण तथा रोकथामलाई उच्च प्राथमिकतामा राखिएको छ।कोरोना भाइरसका कारणले शिक्षा क्षेत्रमा उत्पन्न संकटलाई हल गर्न तथा विद्यालय तहका विद्यार्थीहरूको निरन्तर अध्ययन गर्ने बानीको विकास गर्न सूचना प्रविधि लगायत बैकल्पिक विधिबाट शिक्षण सिकाई गर्ने नीति लिईएको छ।नगरवासीलाई सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच बृद्धि गर्दै लाने उद्देश्य लिईएको छ।खेलकुदको विकास, युवा परिचालन एवं प्रवर्द्धन गर्दै लगिनेछ ।लैङ्गिक समानता, सामाजिक समावेशीकरण सुनिश्चित गरी समावेशी विकास गर्ने लक्ष्य लिईएको छ।

    • शिक्षा क्षेत्रमा सबैको पहुंच पुर्याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा रु. 30 करोड 13 लाख 55 हजार विनियोजन गरेको छु।
    • स्वास्थ्य सेवामा सबैको पहुंच पुर्याई स्वास्थ्य सेवाको स्तर बृद्धि गर्ने कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा रु. 5 करोड 77 लाख विनियोजन गरेको छु।
    • 15 वटै वडामा चालु आ.व.बाट क्रमागतरुपमा सुरू भएको एक-एक वटा दुई कोठे विद्यालय भवन र तार घेराबारा सहितको संरचना निर्माण आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
    • महिला, किशोरी र बालबालिकामा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यले नेपाल सरकारबाट प्राप्त हुने बजेट र यस नगरपालिकाले छुट्याएको समपुरक रकम सहित प्राथमिकताका साथ बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु ।
    • महिलाहरुलाई आर्थिक, राजनीतिक र सामाजिक रुपमा सवल र सक्षम बनाउदै महिला शसक्तिकरण गर्ने कुरालाई ध्यानमा राखेर उपप्रमुख संग महिला कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
    • जेष्ठ नागरीक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघीय अनुदान अन्तर्गत आवश्यक बजेट विनियोजन गरेको छु ।
    • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय सामाजिक विकास तर्फ रु. 79 लाख 52 हजार 5 सय विनियोजन गरेको छु।

     3) पूर्वाधार विकास

    नगरपालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गदेखि प्रत्येक वडा केन्द्र, माध्यामिक विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरू, सामुदायिक भवनहरूसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको पहुँच पुर्याउन सडक स्तरोन्नतीको कार्यलाई विशेष प्राथमिकता दिईनेछ। प्रत्येक वडामा स्वच्छ खानेपानी आपूर्ति तथा व्यवस्थापन गर्ने नीतिलाई उच्च प्राथमिकतामा राखिनेछ।

    • विगत र चालु आवमा सुरु भएका आयोजनाहरू आगामी आवमा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि रु. 1 करोड विनियोजन गरेको छु।
    • नगरपालिकाको प्रशासकीय भवनको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समपूरक अनुदान समेत समावेश गरी आगामी वर्ष निर्माण सम्पन्न गर्ने गरी रु. 70 लाख बजेटको व्यवस्था गरेको छु।
    • पुराना र अत्यन्तै जिर्ण अवस्थाका भवनहरू रहेका र भवनै नभएका 11 वडाहरूमा चालु आ.व.बाट क्रमागतरुपमा सुरू भएको 11 वटै प्रशासकीय भवनहरू निर्माण आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
    • बुईपाको यलम्बर पार्कमा विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिन, बगरे भञ्ज्याङमा वाटर पार्क निर्माणलाई निरन्तरता दिन र दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स निर्माण सुरु गर्नका लागि प्रदेश सरकारको समपूरक अनुदान समेत समावेश गरी आवश्यक बजेट विनियोजन गरेको छु।
    • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय पूर्वाधार विकास तर्फ रु. 1 करोड 40 लाख 42 हजार 5 सय विनियोजन गरेको छु।

    4) बन-वाताबरण, विपद व्यवस्थापन तथा सरसफाई

    • विपद व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
    • फोहरमैलाको व्यवस्थित विसर्जनका साथै यस नगरलाई अर्गानिक नगर बनाउने उद्देश्य अनुसार थालिएको कम्पोष्ट प्लाऩ्टको उत्पादनलाई व्यवस्थित गर्नका लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।
    • नविकरणीय उर्जा प्रविधिहरू (लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायोग्यास, वायोमास उर्जाको उत्पादन र प्रयोग ) मार्फत उर्जा उत्पादन र प्रयोगको लागि रु. 8 लाख विनियोजन गरेको छु।
    • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय वन, वातावरण, विपद व्यवस्थापन तथा सरसफाई तर्फ आवश्यक बजेट विनियोजन गरेको छु।

    5) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन

    • नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरूको संस्थागत सुधारको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
    • राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकासको लागि केही बजेटको व्यवस्था गरेको छु।
    • प्रविधिमैत्री विकासबाट सुशासन कायम गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
    • वडास्तरबाट छनौट भएका योजनाहरू संचालनका लागि वडास्तरीय संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ रु. 9 लाख 32 हजार 5 सय विनियोजन गरेको छु।

    सभाध्यक्ष महोदय तथा सदस्यज्यूहरु,

    प्रस्तुत बजेटको कार्यान्वयनबाट यस नगरपालिका भित्र सुशासनको अभिबृद्धि भई आर्थिक विकास, सामाजिक विकास तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छु।

    यो बजेट निर्माणको क्रममा अहोरात्र खटिई तथा प्रत्यक्ष-अप्रत्यक्ष रचनात्मक, सिर्जनात्मक सल्लाह सुझाव एवं प्रतिक्रिया दिई सहयोग गर्नुहुने नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरु, कार्यपालिकाका सदस्यज्यूहरु, सल्लाहकारज्यूहरू, विभिन्न विषयगत समितिका संयोजक तथा सदस्यज्यूहरु, राजनैतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, सञ्चारकर्मी एवं समस्त नगरवासी महानुभावहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।

    अन्त्यमा, समाजवाद उन्मुख सभ्य र समृद्ध नगर निर्माण गर्ने अभिभारा र कोभिड-19 ले सिर्जना गरेको चुनौतीहरू बीच आएको यस सम्मानित सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पनि यहाँहरुको पूर्ण सहयोग प्राप्त हुने कुरामा विश्वास लिएको छु ।धन्यवाद !२०७७ असार १० गते साँझ ७ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology