चिसाङ शेर्पा खोटाङ, खोटाङको दशवटै स्थानीय तहमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गत बैशाख २ गते खाल्लेमा देखिएको फौजी किराको प्रकोप दुई नगरपालिका र आठ गाउँपालिकाको हजारौ रोपनीमा लगाइएको मकैबालीमा तीव्ररुपमा फैलिरहेकोे हो ।
कृषि ज्ञान केन्द्र दिक्तेलका अनुसार १३ हजार ३३५ रोपनी अर्थात ६ सय ६६ हेक्टरमा प्रमुख बालीका रुपमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको विवरण छ । केन्द्रका अनुसार सवैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ हजार ५ सय रोपनी, हलेसी तुवाचुङ नगरपालिकामा ३ हजार ३ सय रोपनी र बराहपोखरी गाउँपालिकामा २ हजार ३ सय ४० रोपनीमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । जन्तेढुंगा गाउँपालिकामा सय रोपनी, खोटेहाङ गाउँपालिकामा ५ सय रोपनी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १ हजार रोपनी, साकेला गाउँपालिकामा ७५ रोपनी, रावाबेंशी गाउँपालिकामा १ हजार रोपनी, ऐसेलुखर्क गाउँपालिकामा ८२० रोपनी र केपिलासगढी गाउँपालिकामा ७ सय रोपनीमा फौजी किराको प्रकोप फैलिएको छ ।
फौजी किराको प्रकोप देखिएसँगै विभिन्न नगरपालिका तथा गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा ८ हजार रोपनीमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणमा लिइएको कृषि ज्ञान केन्द्र दिक्तेलका निमित्त प्रमुख हरिनारायण राईले बताए । फौजी किरा नियन्त्रणका लागि विभिन्न पालिका तथा केन्द्रको सहकार्य भइरहेको र विषादी ल्याउन भने समस्या भइरेको राईले बताए । लकडाउनको कारण विषादी भित्र्याउन सकिरहेको छैन । किराको प्रकोप भने तीव्ररुपमा फैलिने देखिएको छ । निमित्त प्रमुख राईले थपे, ‘नियन्त्रण गर्न नसकिएमा भोकमरी नचल्ला भन्न सकिन्न ।’
फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । फौजी किराले विभिन्न सिजनमा किसानहरुले लगाएको अधिकांश मकैवाली नष्ट पार्ने गरेको छ । किसानहरुको मुख्य बाली मकै दिनप्रति दिन नष्ट गरिरहंदा भोकमरी चल्न सक्ने याम्खाका किसान विरेन्द्र रायले बताए । लकडाउनले गर्दा विषादी समयमै ल्याउन नसकेको रायले गुनासो गरे । फौजी किराको प्रकोप यस्तै रहेमा किसानहरुको जिम्मा कसले लिने भन्ने प्रश्न छुट्टै रहंला उनले भने, ‘किसानहरुले समयमै विषादी नपाएमा भोलीका दिनमा भोकमरी चल्ने निश्चित छ ।’
फौजी किरा नियन्त्रणका लागि विषादी नपाएको अवस्था, पाएको खण्डमा झिकाउने साधन नभएको अवस्था, साधन भए पनि पास नभएको अवस्था र पास भए पनि ठाउँठाउँमा रोकिदिने समस्याले किरा नियन्त्रण्मा अफ्ठ्यारो भइरहेको कृषि ज्ञान केन्द्र दिक्तेलका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताए । २४ दिनदेखी ३० दिन भित्रमा फौजी किराले आफ्नो जीवनचक्र पूरा गर्छ, जीवनक्र पूरा गरेपछि माउ पुतलीले हजारौंको संख्यामा अण्डा पार्दै जाने हो । यादव भन्छन्, ‘दुई दिन ढिला भनेको दुई हजार रोपनीमा क्षति पुग्नु हो । त्यसैले यसको नियन्त्रण गर्नमा लकडाउनले समस्या गरेको छ । जिल्लमा ३९ हजार ८४५ हेक्टरमा मकै खेती हुंदै आएको छ । २०७७ जेठ १६ गते अपरान्ह ४ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology