समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा पनि आवतजावत गर्नेक्रम नरोकिएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार/चार जनाका दरले बिहान ६ बजेदेखि बेलुका ६ बसेसम्म दैनिक १२ घण्टा युवा खटिएका हुन् ।
स्थानीय बासिन्दालाई समेत एउटा टोलदेखि अर्को टोल आवजावत गर्न नदिनेगरी रोक लगाउन लागीपरेका युवा साबिकको नौँ वटै वडाका नाकामा परिचालित भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “हरेक घरका युवा पालैपालो एक/एक दिन नाकामा बस्नेगरी समिति बनाएरै खटिएका छन्”, उहाँले भन्नुभयो, “नाकामा खटिने युवालाई वडा कार्यालयबाट स्वयम्सेवक परिचयपत्र र मास्क उपलब्ध गराइएको छ ।”
घरमा बिहान खाना खाएर नाकामा खटिने युवा आफैले दिउसोको लागि भुटेको मकै, सातु तथा अन्य खाजा लिएर जाने गरेका छन् । नाकामा खटिएका युवाको टोलीले गम्भीर किसिमका बिरामी तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक पैदल यात्रुलाई समेत रोक लगाउने गरेका छन् ।
दिक्तेलबाट खार्मी प्रवेश गर्ने देउराली, पाथेकाबाट प्रवेश गर्ने देखुमेखोलाको पुल, जालपाबाट प्रवेश गर्ने लुम्जुखोला, रुपाकोटबाट प्रवेश गर्ने ढिकाडाँडा, केपिलासगढी गाउँपालिकाबाट प्रवेश गर्ने रुधालुङ र तुर्खा पुछारमा टोली खटिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । यस्तै, एउटा टोलदेखि अर्को टोल प्रवेशमा रोक लगाउन बाँझोबारी, झिँगुचोक, रुयल, निगाँले, गुरुङगाउँ, जागित्राडाँडा, बिखर्कु लगायतका ठाउँमा समेत युवाको टोली परिचालन भएको जनाइएको छ ।
मुख्य चोक तथा बाटोमा प्रवेश निषेध लेखिएको सूचनाटाँसेर परिचालित भएका युवाले गाउँमा कोरोना भाइरस सम्बन्धी जनचेतना अभिवृद्धिको कामसमेत गरिरहेका छन् । प्रवेश निषेधको जानकारी नपाएर आउने व्यक्तिलाई बाटैबमा सम्झाईबुझाई फर्काउने गरिएको नाकामा खटिएका बोहोरीबोटका युवक चिनकाजी राईले बताउनुभयो ।
दिनभर नाकामा खटिने युवाले घाम र पानीबाट जोगिन आफ्नै खर्चमा पाल तथा चित्राको गोठ बनाएर बस्ने गरेका छन् । आफ्नो गाउँको सुरक्षार्थ खटिने युवालाई वडाको तर्फबाट सामान्य खाजाको व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । २०७७ बैशाख २४ गते मध्यान्ह १२ : ४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology