समायोजन खबर खोटाङ, खोटाङमा दश जनालाई क्वारेन्टाइनमा राखिएको छ । रोजगारीको सिलसिलामा विदेशबाट घर फर्किएकालाई विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।
केपिलासगढी गाउँपालिकाले दुबईबाट घर आइपुगेका खार्ताम्छाका एक युवा र कतारबाट घर आइपुगेका दिप्सुङका ४५ वर्षीय व्यक्तिलाई गाउँपालिकाले पृथ्बी मावि बाक्सिलामा बनाएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भारतको सिक्किमबाट घर आएका छोरम्बुका ३१ वर्षीय, छोरम्बुकै ३८ वर्षीय, भारतको वेष्ट बंगालबाट आएका याम्खाका २२ वर्षीय, भारतको मेघालयबाट आएका याम्खाकै ४७ वर्षीय, साउदीबाट आएका ३० वर्षीय, भारतको उत्तरखण्डबाट घर आइपुगेका बतासेका १७ वर्षीय र १९ वर्षीय युवालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । सात जनालाई गाउँपालिकाले स्वास्थ्य चौकी याम्खामा बनाएको क्वारेन्टाइनमा राखेको हो ।
यसैगरी, साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई सम्झाई बुझाई गरेर १४ दिनसम्मका लागि खाने सुविधा सहित क्वारेन्टाइनमा राखिएको सम्बन्धित गाउँपालिकाहरुले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ जना होम क्वारेन्टाइनमा रहेको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए । क्वारेन्टाइनमा कोरोना भाइरसको लक्षण नदेखिएको भए पनि प्रभावित क्षेत्रबाट आएको १४ दिनभित्रका व्यक्ति र कोरोना भाइरस व्यक्तिको सम्पर्क भएको व्यक्तिलाई राखिने गरिन्छ ।
हालसम्म जिल्लामा ३०४ बेडको क्वारेन्टाइन, २१ स्थानमा हेल्थ डेस्क स्थापना, १३ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । हेल्थ डेस्क भने व्यवस्थित र प्रभावकारी नभएको पाइएको छ । हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीले लगाउने एन ९५ माक्स र इन्फारेट थर्मोमिटर अझै प्राप्त नहुंदा हेल्थ डेस्क प्रभावकारी नभएको स्वास्थ्य कार्यालय दिक्तेलका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए ।२०७६ चैत्र २० गते साँझ ६ वजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology