समायोजन खबर सुनसरी,
सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ । मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताए । मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको रामजानकी मन्दिर परिसरमा विशेष समारोहको आयोजना गर्ने तयारी भएको आयोजक समितिका कार्यक्रम संयोजक झाले बताए ।
विद्यापति समारोहका अवसरमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थिति संयोजक झाले बताउनुभयो । प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने तयारी गरेको उहाँले बताउनुभयो । शनिबार बिहान प्रभातफेरि र स्थानीवासी रमानन्द झाले इनरुवा–४ नयाँ बसपार्कमा दान दिएको जग्गामा विद्यापति स्मारक शिलान्यास गरिने कार्यक्रम छ । दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत आयोजना गरिने संयोजक झाले बताउनुभयो । रु १५ लाखभन्दा बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा पाँच हजारभन्दा बढी स्थानीयवासीको सहभागिता रहने अपेक्षा आयोजकको छ । कार्यक्रममा सुनसरी, मोरङ, सप्तरीसहित भारतका विभिन्न भू–भागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, अग्रज साहित्यकार तथा कलाकारको उपस्थिति रहनेछ । विद्यापतिलाई मैथिली साहित्यका महाकविका रूपमा लिइन्छ । उहाँले मैथिल साहित्यको लेखन तथा विस्तारमा पुर्याएको योगदानलाई नेपाल–भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ । रासस
२०७६ मंसिर १९ गते मध्यान्ह १ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology