समायोजन खबर काठमाण्डौ,
नेपालकाे दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डाै आउनुभएकाे थियो । राष्ट्रपति सीलाई स्वागत गर्न उहाँका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुग्नुभएकाे थियाे । राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

राष्ट्रपति सीको सम्मानमा शनिबार विमानस्थलमा नेपाली सेनाले सम्मानगारत (गार्ड अफ् अनर) पनि प्रदान गरेको थियो । शनिबार नै उहाँले आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयाे । साथै राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा पनि सी सहभागी हुनुभएको थियो । आइतबार बिहान राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भयाे । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
चिनियाँ राष्ट्रपतिकाे भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएकाे छ । समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलकाे सहभागिता रहेकाे थियाे ।
दुईदिने भ्रमण सकेर उहाँ १:३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । साेल्टी हाेटेलबाट विमानस्ठल फर्कने क्रममा राषट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
२०७६ असोज २६ गते दिउँसो २ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology