चिसाङ शेर्पा खोटाङ,
स्टेजमा जब जनगायक जीवन शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ भनेर मर्मस्पर्शी गीत गाउन थाले दर्शकदिर्घामा बसेका अतिथि तथा अन्य मानिसहरु जुरुक्क उठेर ताली बजाउदै नाचे । बाग्लुङगे ठिटोले कलेज पढ्ने समयमा स्याङजामा भेटिएका खोटाङका एक भरियालाई देखेर एकैपटकमा सिर्जना गरेको गीत दिल खोलेर गाए । उपस्थित अधिकांश नाचेर साथ दिए, ताली पिटे ।
प्रगतिशील लेखक संघ खोटाङले आईतबार आयोजना गरेको सांस्कृतिक र साहित्यिक कार्यक्रममा गायक शर्माले सिमली छायाँमा बसी.. गाउँदा अन्य गीतहरुमा भन्दा वातावरण फरक देखियो । समिक्षालय हलमा भएको उनको प्रस्तुतीमा नाचसँगै तालीको पर्रा छुट्योे । जनवादी गीत गाएर नै चर्चामा आएका उनले दुई चरणमा जनवादी गीतबाट चेतना तथा भरपुर मनोरञ्जन दिलाए । “म निर्धाको गाथा बोकेर, सागर भेट्न जादैछ नदि, आधि रातमा हुरी चल्दा” पहिलो चरणमा प्रस्तुत गरे । उनको गीतसँगै बिचबिचमा कविता, गजल वाचनले कार्यक्रम झन् रोचक बन्यो ।

जनगायक जीवन शर्मालाई सम्मानपत्र प्रदान गर्नुहुंदै प्रलेसका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरी । तस्विर चिसाङ शेर्पा
दोश्रो चरणमा जनगायक शर्माले हामी सवै नेपाली, परदेशी तिमि फर्कि आउँ, फोक्लिनको टापुबाट, आकासैमा बादल छैन, चाहिन्दैन मलाई सिसाको महल, छेकेर छेकिन्न, रोकेर रोकिदैन र अन्त्यमा सवैको रोजाई र खोजाईको ‘सिमली छायाँमा’ प्रस्तुत गरे । खोटाङगे भरियाको जीवन देखेर बनेको उनको गीतमा अतिथि तथा दर्शक मन्त्रमुग्ध मात्रै भएनन् । देशमा भएको विधामान समस्या उस्तै रहेको भान समेत गरे ।
जिल्लामा भएको सांस्कृतिक कार्यक्रमबाट सधैजसो विशुद्ध मनोरञ्जन मात्रै लिदै आएकाले यसपटक भने, मजाले जनवादी गीत सुन्न र नाँच्न पाएको प्रलेसका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ओम प्रकास घिमिरेले बताए । आम जिल्लावासीले जनगायक शर्माको गीत सुन्न औधि रुचाएका थिए । तर प्रतिकुल मौसमका कारण अपेक्षित उपस्थिती नभए पनि कार्यक्रम सफल भयो । उनले भने ।

प्रलेसका अध्यक्ष चित्रकुमार सुवेदीले कविता वाचन गरेर अध्यक्षता ग्रहण गरेको कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष हेमविक्रम राईको दुई जनवादी गीत प्रस्तुती पछि जनगायक शर्माको प्रस्तुतीसँगै बिचबिचमा डिल्ली नाकारा, बम बानियाँ, एमसी सुमित, अमर श्रेष्ठ, प्रमोद श्रेष्ठ, धनिराम राई, घनश्याम ढकाल, मौसम आचार्य, सविता भुजेल, रोशन किशोर राई, बेदीकुमार राई, जीवन ज्वालाले कविता तथा गजल वाचन गरे ।
सिमली छायाँमा बसी गीतबाट चर्चा कमाएका जनगायक शर्मालाई प्रलेसले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । शर्माकोे सिमली छायाँमा बसी २०४६ सालको अन्त्यतिर रेकर्ड भएको गीत हो । वि.स २०१६ चैत २६ गते बाग्लुङमा जन्मिएका शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्गेजी र मानवशास्त्रमा डबल एमए गरेर पनि सर्वहारा गायक बनेका हुन् ।
२०७६ असोज १२ गते साँझ ६ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology