समायोजन खबर खोटाङ,
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेकपाको दुई तिहाईको सरकारले माखो नमार्ने बताएका छन् । खोटाङको दिक्तेलमा मंगलबार आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको बताएका हुन् । ‘यो काण्डै काण्डको सरकार भयो । निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न प-यो,’ महामन्त्री कोईरालाले भने, ‘यो सरकारले कुनै माखो मार्दैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । जति योजना छन्, ति बिपिको समयमा, शुसिलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको थियो ।’
महामन्त्री कोईरालाले दुई तिहाईको सरकार दम्भ पालेर ‘पानी जहाज ल्याइदिने र रेल ल्याइदिने’ भन्दै सपनै सपनामा विलाइरहेको आरोप लगाए । कोईरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्नेमा जोड दिए । ‘यो संविधानमाथि आक्रमण हुने सम्भावना देखिरहेको छु । हामी मिलेर संविधानलाई जोगाउनु पर्छ,’ कोईरालाले भने, ‘तसर्थ हामी रेलिङ भाँच्ने, कुर्सी भाँच्ने काम गर्दैनौँ । प्रतिपक्षमा बसेर सशक्त भूमीका खेलिरहेका छौँ ।’
कोईरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेसलाई ध्वस्त पारेको बताए । ‘कांग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको हो,’ कोईरालाले भने, ‘एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट कांग्रेसको जित हुन्छ ! तिक्तताले हामीलाई धरासायी पारेको छ ।’ हालसम्म कांग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै कोईरालाले अवका दिनमा कांग्रेसको योगदानको प्रचार गर्नुपर्नेमा जोड दिए ।
२०७६ असोज ७ गते राती ९ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology