भोजपुरमा बहुविवाह गर्ने दुई जोडी पक्राउ

समायोजन खबर भोजपुर,
भोजपुरमा बहुविहाह गर्ने दुई जोडीलाई पक्राउ गरिएको छ । अरुण गाउँपालिका वडा नम्बर–४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमतीे १९ वर्षीय बसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।
टंककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले बताए ।
प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
२०७६ साउन २३ गते मध्यान्ह १२ :०६ मा प्रकाशित