समायोजन खबर फिदिम,
पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लावासीले विवरण दर्ता गराएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२को राष्ट्रिय परिचयपत्र छपाइ भएकोे र तीमध्ये ५७ हजार ७९३ जनाले आफ्नो परिचयपत्र बुझेर लगिसकेका छन् । उक्त परिचयपत्रका लागि जिल्लाका सबै वडामा विवरण सङ्कलन शिविर र राष्ट्रिय परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो । शिविरमा परिचयपत्र लिन नआएका तथा शिविरपछि विवरण दर्ता गराएकाहरुले समेत परिचयपत्र लगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र तथा राहदानीको लागि आवेदन गर्ने बित्तिकै सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरिए पनि विवरण दर्ता गराएकाहरु त्यसको उपयोगिता नदेखेर राष्ट्रिय परिचयपत्र लिनलाई मात्रै नआउने गरेको फिल्ड कार्यालयले जनाएको छ ।
नेपालमै पहिलोपटक गत वर्षको असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु भएको थियो । यसरी सङ्कलित विवरणका आधारमा राष्ट्रिय परिचयपत्र छपाइ भएपछि गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको थियो । अहिले उक्त परिचयपत्रका लागि विवरण सङ्कलन तथा तथा वितरणको कार्य सबै प्रदेशका विभिन्न जिल्लामा शुरु भइसकेको छ ।
२०७६ साउन १० गते अपरान्ह ३ : ५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology