समायोजन खबर खोटाङ,
नेपाली कांंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङले विपी स्मृति भवन दिक्तेलमा कार्यक्रमको आयोजना गरि स्मृति दिवस मनाएको हो ।
कांग्रेसका पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको प्रमुख आतिथ्यता तथा पार्टी सचिव ज्ञानेन्द्र जोशीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेसका नेता तथा भातृ संघसंस्थाहरूका प्रमुख, प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । जीवनभर प्रजातन्त्रका लागि लडेका विपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने विपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका विपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए । मेलमिलापको नीतिको चर्चा गैर कांग्रेसी नेताले पनि गर्छन् । तर, कांग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पद जस्तै लाग्छ । विपी साहित्यमा पनि धुरन्धर मानिन्छन् । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।
मेलमिलापको नीति
विपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर विपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो । उनले फर्कने बेलामा मेलमिलापको नीति लिएर फर्केका थिए । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह संम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए । विपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ । विपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि विपीलाई सम्झिरहन्छन् ।
खोटाङ कांग्रेसको हालत
वर्तमान अवस्थामा कांग्रेसको केन्द्रिय राजनीतिको त कुरै छोडौं, खोटाङ कांग्रेसले पनि विपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा विपीको नीति सान्दर्भिक भए पनि अहिले कांग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको सवैको गुनासो आउँछ ।
प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले खोटाङमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन् । संगठन बिस्तार किन नगरिएको ? गाउँ–गाउँमा गएर कार्यक्रम गरेको खै ? कार्यकर्ताको संरक्षण गर्नुपर्छ कि पर्दैन ? गुटगत स्वार्थले पार्टी कोमामा पु¥याउनने हो ? यी दिक्तेलमा भएको विपी स्मृति दिवसको अवसरमा बोल्ने नेता कार्यकर्ताको प्रश्न र जिज्ञासा हुन ।
सत्तारुढ दल नेकपाले नै अहिलेसम्मकै कमजोर प्रतिपक्षीको आरोप कांग्रेसलाई लगाईरहँदा सम्म पनि सहेर बसेको कांग्रेस अव कहिले जाग्ने ? वा खोटाङमा पटक–पटक हारेर पनि फेरी हार्ने ? खोटाङ कांग्रेसभीत्र झाँगिएर बसेका समस्यालाई (विपी स्मृति दिवस) आजकै दिनदेखि फेरि कांग्रेसभित्र मेलपिलापको नीति अपनाउने हो भने पुनः पहिलो दल बन्ने त निश्चित छ त्यसमा पनि खोटाङ कांग्रेसको विजयी सुनिश्चित छ ।
राप्रपा नेपालका जिल्ला उपाध्यक्षसहित नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश
नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खोटाङका जिल्ला उपाध्यक्ष चन्द्र बहादुर बुढाथोकी कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसकोे आस्था मन परेको भन्दै बुढाथोकीसंगै नेकपाका रमेश रोक्का, धनबहादुर विसङखे र कृष्णबहादुर रोक्का कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसको चारतारे झण्डामा गोलबन्द हुन आएका उनीहरुलाई पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु प्रकाशकुमार श्रेष्ठ, चक्र राई, डिल्लीकुमारी आचार्य, सुमन आचार्य, दिनेश घिमिरे, तरुण दलका अध्यक्ष भीषण राई, नेविसंघ अध्यक्ष राजकुमार बस्नेत, नगर सभापति दुर्गा घिमिरेलगायतले स्वागत गरेका थिए ।
२०७६ साउन ६ गते राती ९ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology