• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिना दिन मनाइयो उभौली (फोटो फिचर)

महिना दिन मनाइयो उभौली (फोटो फिचर)


चिसाङ शेर्पा
  • शनिबार, जेष्ठ ३२ २०७६

  • दिक्तेलको माटिकोरे खेलमैदानमा उभौली चाडको अवसरमा साकेला नाँच्दै किरात समुदायका मानिसहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    किरात राईहरुको महान चाड उभौली महिना दिन मनाइएको छ । बैशाख पूर्णीमाको अवशरमा जेठ ४ गतेदेखी पुर्वी खोटाङ सहित किरात समुदायको बसोबास रहेको ठाउँमा एक महिना साकेला उभौली मनाइएको हो । ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी किरात राई, लिम्बु, याक्खा र सुनुवार समुदायले भव्यरुपमा साकेला चाड मनाएका हुन् ।

    माझ किरातले प्रसिद्ध खोटाङमा किरात राई यायोक्खाको आयोजनामा जेठ ४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल मझुवागढीमा सामूहिक साकेला नाचेर सुरुवात भएको उभौली शनिबार यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा दिक्तेलको माटिकोरे खेलमैदानमा किरात राई तथा अन्य समुदायका बालवालिका, बृद्धबृद्धा, युवायुवतीले सामूहिक रुपमा साकेला नाचेर विधिवत रुपमा उभौली समापन गरिएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले बताए । साकेला चाडको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै विभिन्न सिलीमा साकेला नाच्ने प्रचलन छ ।

    साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ । उभौली समापनको अवसरमा जिल्लाका विभिन्न स्थानका १२ समुहले साकेला प्रदर्शन गरेको किरात राई यायोक्खाका सचिव युगसन किरातले जानकारी दिए । साकेन्वा, साकेवा, साकेला लगायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ । साकेलाको अवसरमा महिना दिन किरात राईको वसोवास रहेको गाउँघरमा गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाँच्ने, आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

    साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् । उभौली चाड समापनमा यायोक्खाका अध्यक्ष हात्तीराम राई, प्रदेशसभा सदस्य उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, प्रहरी नायब उपरिक्षक बामदेव गौतम लगायतले सामूहिक साकेला नाचे ।

    कार्यक्रममा सहभागी वक्ताहरुले मौलिक, संस्कार संस्कृती जर्गेनामा सबै एकजुट हुनुपर्ने बताए । उभौली चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ ।


    २०७६ जेठ ३२ गते दिउँसो ४ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology