समायोजन खबर खोटाङ,
पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान(फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीन वर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सव–ओभरसियर, प्लम्बर, कम्प्युटर लगायतका सीपमूलक विषय पठन–पाठनका लागि स्थापित बहुप्राविधिक शिक्षालयले स्थापनाको पहिलो वर्ष फरेस्ट्री कक्षाबाट पढाइ सुरु गरेको हो ।
सातवटै प्रदेशमा एक/एकवटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा महुरेगढी नमूना बहुप्राविधिक शिक्षालय स्थापना गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटिए) कक्षा सुरु गरेको छ । सिटिइभिटीको सम्बन्धनमा प्राविधिक एसएलसीतर्फ १८ महिने कोर्सको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् । ६६ जनाको आवेदन परेकामा प्रवेश परीक्षा गराई कोटा अनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले जानकारी दिए । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटिए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मत लगायतका प्राविधिक विषयका अध्ययन तथा तालिममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
यस्तै, दिक्तेलकै पञ्च माविले आर्थिक वर्ष २०६९÷०७० देखि मावि तहमा बाली विज्ञान विषय पठन–पाठन गर्दै आएको छ । उता साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको छ । प्राविधिक जनशक्ति उत्पादनमा दिक्तेलको अस्पताल चोकमा २०७१ सालमा खुलेको दिक्तेल प्राविधिक कलेजको योगदान पनि उल्लेखनीय छ । जिल्लामै प्राविधिक शिक्षा सञ्चालन हुन थालेपछि अब यस्ता विषय पढ्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।
२०८७५ कार्तिक २८ गते राती ८ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology