चिसाङ शेर्पा खोटाङ,
नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा दिक्तेलमा तीज महोत्सव सुरु भएको छ । तीज पर्वलाई निरन्तरता तथा लोपोन्मुख लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले तीज महोत्सव सुरुवात भएको हो । बहुआयमिक संरक्षण समाज दिक्तेलले आयोजना गर्दै आएको तीज महोत्सव अन्तरगत सोमवार समिक्षालय हलमा ‘खोटाङ जिल्ला दिक्तेल बजार संस्कृतिलाई जोगाउ हजुर’ वोलको लोकदोहोरी प्रतियोगिताको पहिलो चरण समापन भएको समाजका अध्यक्ष अनिल आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार खाल्ले समुह, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, सिर्जनशील समुह निगांले, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ र पुराना गाउँ सेवा समिति लोकदोहोरी प्रतियोगिताको दोश्रो चरणमा पुगेको छ । सोमबार नै संगीनि नाच पनि सकिएको छ । दोश्रो चरणमा गएका पाँच समुहले महोत्सवको अन्तिम दिन प्रर्तिस्पर्धा गर्नेछन् । संगिनि नाच, मारुनि नाच, पञ्चैबाजा कुसुले नाँच र धुपिधुपि नाच पनि सोही दिन प्रर्दशनी गरिने भएको छ ।
आगामी बुधबारसम्म सञ्चालन हुने तीज महोत्सवको दिक्तेल रुपाकोट मझुवागढी नगररपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन् । प्रतियोगितामा प्रथम समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो समुहले ३ हजार रुपैयाँ तथा संगिनि नाच, मारुनि नाच प्रर्दशनीमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिने बहुआयमिक संरक्षण समाजले जनाएको छ । तीज पर्व भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज नेपाली महिलाहरूले हर्षोल्लासका साथमा मनाउने गर्दछन् ।
दरखाने दिन
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीचेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दर खाने गरिन्छ । यहि दर खाने दिनबाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गर्दछन् । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
फोटो : तीज महोत्सवमा नृत्य गर्नुहुंदै बृद्धा आमाहरु, तस्विर, चिसाङ, २०७५ भदौ २५ साँझ ५ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology