समायोजन खबर खोटाङ,
वडा सचिव नहुँदा खोटाङको जन्तेढुंगा गाउँपालिकामा एक जना कार्यालय सहयोगीले दुई वडाको वडासचिवको काम गरिरहेका छन् । गाउँपालिका कार्यान्वयनमा आएको वर्षदिन बित्दा समेत कर्मचारी व्यवस्थापन नहुँदा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका कार्यालय सहयोगी कृष्णबहादुर कट्वालले डम्बर्खुशिवालय र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको वडा सचिवको रुपमा काम गर्दै आएका छन् ।
६ वडा रहेको गाउँपालिका सुरुदेखि नै वडासचिव बिहीन बनेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए । सचिव नहुँदा कार्यालय सहयोगीले काम चलाउ वडासचिवको भूमिका पाएका हुन् । वडामा सचिवको व्यवस्था नहुँदा दैनिक कामकाज प्रभावित भइरहेको छ ।
यस्तै, वडामा सचिव नहुँदा गाउँपालिकाका प्रशासन फाँटका नासु बिदुर आचार्यले जन्तेढुंगा गाउँपालिका–३ काहुले र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको वडासचिवको काम गरिरहेका छन् । यसैगरी, गाउँपालिकाका सव–ओभरसियर भीमबहादुर कार्कीले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थान र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको वडासचिवको काम गर्दै आएका छन् ।
दोहोरो भूमिका निभाउँदा कार्यालयको सेवा प्रभावकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ । सबै वडा सचिव अन्यत्र सरुवा भएर गएपछि सिंगो गाउँपालिका सचिव बिहीन बनेको गाउँपालिका प्रमुख राईले बताए । दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य पनि सरुवा भएर सोलुखुम्बु गएपछि गाउँपालिका वडासचिव बिहीन बनेको हो । यस्तै खोटेहाङ गाउँपालिकाका ९ वडामध्ये ५ वडा सचिव बिहीन बनेको छ ।
२०७५ भदौ १७ गते साँझ ६ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology