देशमा आर्थिक गतिविधि बढ्दै र स्थानीय तहको अधिकार बढ्दै जाँदा बैंकहरू पनि शाखा विस्तारमा तीव्र गतिमा लागेका छन् । सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सबै स्थानीय तहमा कुनै न कुनै बैंक पुग्नैपर्ने बाध्यताका कारण पनि बैंकका शाखाको संख्या बढिरहेको छ । वाणिज्य बैंकसँगै नयाँ शाखा खोल्ने काममा विकास बैंक पनि कम छैनन् ।
सिद्धार्थ बैंकका एकै दिन ६ वटा
सिद्धार्थ बैंकले सोमबार एकै दिनमा ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कैलालीको अत्तरिया, बाँकेको खजुरा, दाङको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा शाखा सञ्चालनमाल्याएको हो ।
सञ्चालनमा आएका नयाँ शाखाहरूसहित बैंकले देशभर १ सय १५ शाखा ३ एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा, १ सय १६ एटिएम तथा ८ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएकोजनाएको छ ।
एनआइसी एसिया बैंकका ४ वटा
एनआइसी एसिया बैंकले एकैपटक ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको गौरीगन्ज नगरपालिका, कनकाई नगरपालिका तथा ठाकुरनाथबाबा नगरपालिका र दाङको सिसहनियामा शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा सञ्चालनमा ल्याएपछि बैंकका २ सय २५ शाखा, २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउन्टर तथा ११ शाखारहित बैंकिङ एकाइ पुगेको छ । शाखा सञ्जालका आधारमा एनआइसी एसिया देशकै सबैभन्दा ठूलो रहेको बैंकले दाबी गरेको छ ।
सन्राइज बैंकका २ वटा
सन्राइज बैंकले धनकुटाको धनकुटा बजार, गुल्मीको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । धनकुटाको ८९औँ र धुर्कोटको ९०औँ शाखा हो । यी शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरूलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्य लिएको छ ।
बैंकले ९० शाखा, २२ शाखारहित बैंकिङ सेवा, ३ एक्सटेन्सन काउन्टर, १ सय एटिएममार्फत आफ्ना ४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा सिन्धुपाल्चोकमा
नेपाल इन्भेष्टमेन्ट बैंकले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ७३आैँ शाखा हो ।
बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । नयाँ शाखासहित बैंकका ७३ शाखा, १ सय एटिएम, ७ एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ सेवा पुगेको छ ।
प्राइम कमर्सियल बैंकको प्युठानमा
प्राइम कमर्सियल बैंकले प्युठानको सरुमारानी गाउँपालिका बडडाँडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सञ्चालनपछि बैंकका शाखा संख्या ६३ पुगेको छ ।
स्थानीय उद्यगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा बैंकका सञ्चालक गजेन्द्र विष्टले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
यस क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै लाने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रभु बैंकको शाखा रौतहटमा
प्रभु बैंकले रौतहटको परोहा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । परोहा शाखाको उद्घाटन परोहा नगरपालिका प्रमुख मोहम्मद शेख वकिलले गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा रौतहट जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ ।
पोखरामा सांग्रिला डेभलपमेन्ट बैैंकका २ वटा
सांग्रिला डेभलपमेन्ट बैंकले पोखराको लेखनाथस्थित तालचोक र पोखराको हल्लनचोक लेकसाइडमा थप दुुई शाखा सञ्चालनमा ल्याएको छ ।
तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुुरुङले गरेका थिए । त्यस्तै लेकसाइड शाखाको उद्घाटन प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए ।
नयाँ दुई शाखासहित उक्त विकास बैंकका ५२ शाखा पुगेको जनाइएको छ । अन्य ३ शाखा केही दिनमै सञ्चालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा सञ्जाल स्थापना गर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
कार्यक्रममा बैंकका सञ्चालकहरू, पोखराका उद्योगी, व्यवसायी, बैंकर, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको जनाइएको छ ।
महालक्ष्मी विकास बैंकको स्थापना तथा स्थानान्तरण
महालक्ष्मी विकास बैंकले विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विराटनगर महानगरपालिकाको वडा नम्बर २ मा शाखा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै उक्त विकास बैंकले धादिङबेँसीमा भएको शाखा धादिङकै धुनिबेँसी नगरपालिकाको धार्केमा स्थानान्तरण गरेको छ । बैंकले चितवनको चारायणगढ लायन्स चोकमा भएको शाखालाई चितवनकै हाकिम चोकमा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।
उक्त विकास बैंकले आफना ७३ शाखा तथा ३५ एटिएममार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या ४ लाख ४० हजार रहेको जनाएको छ ।
ज्योति विकास बैंकको शाखा मोरङमा
ज्योति विकास बैंकले मोरङको खोर्सानेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखाको उद्घाटन सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
नयाँ शाखा सञ्चालन गरेपछि बैंकले ५७ शाखा तथा १८ एटिएममाफर्त सेवा उपलब्ध गराउँदै आइरहेको छ । यसै आर्थिक वर्षभित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकको शाखा नरेफाँटमा
लुम्बिनी विकास बैंकले काठमाडौं महानजरपालिकाको नरेफाँटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ६५औँ शाखा हो ।
उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए । बैंकले देशका विभिन्न भागमा ६५ शाखा तथा १२ एटिएममार्फत निक्षेप तथा कर्जा सुविधाका साथै भिसा एटिएम, एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सिआस्बालगायतका आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology