समायोजन खबर चैत्र/६ खोटाङ,
कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोटाङको दिक्तेलमा समता स्कुल सञ्चालनमा ल्याईने भएको छ । समता फाउण्डेसन मार्फत देशका ७५ जिल्लामा स्कुल स्थापना गर्ने उद्देश्य अनुरुप खोटाङमा आगामी शैक्षिक सत्रबाट पढाई हुनेगरी समता स्कुल सञ्चालनमा ल्याउन लागिएको समता फाउण्डेसनका निर्देशक दिपक सञ्जेलले बताए ।
खोटाङमा स्थापना हुने स्कुल देशको ४७ औं स्थानमा परेको छ । स्कुल सञ्चालनको लागि पूर्वाधार तयार भईरहेको छ भने स्थानीय निकायबाट स्वीकृती पनि पाईसकेको छ । दिक्तेलको जिल्ला प्रहरी कार्यालय नजिक स्कुल स्थापना गरिनेछ । करीव दुई सय वालवालिकालाई भर्ना लिएर सुरु गरिने स्कुल नर्सरी, एलकेजी, युकेजी र एक कक्षादेखि आगामी शैक्षिक सत्रबाट सुरुवात हुनेछ । वर्षेनी अपग्रेड गर्दै प्लस टु सम्म पु¥याईने निर्देशक सञ्जेलको भनाई छ ।
२०७५ सालभित्र देशको सबै जिल्लामा समता स्कुल स्थापना गर्ने लक्ष्य लिएको फाउण्डेसनले पूर्वका खोटाङ सहित ओखलढुंगा, सोलुखुम्वु, भोजपुर, संखुवासभा र तेह्रथुममा यो स्कुल सञ्चालनमा ल्याउने भएको हो । नेपालको काठमाडौमा एकवटा मास्टर डिग्रीसम्म अध्ययन गर्ने समता कलेज सञ्चालनमा छ भने पाँचवटा प्लस टु लेभलसम्म पढाईहुने विद्यालय फाउण्डेसनले सञ्चालनमा ल्याएको छ ।
नेपालमा मात्र नभएर फाउण्डेसनले सार्क राष्ट्रहरुमा पनि समता स्कुल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बंगलादेश, श्रीलङ्का र भारतमा समता स्कुल सञ्चालनमा छ । निर्देशक दिपक सञ्जेलले भने “७५ जिल्लामा स्कुल स्थापना गरिसकेपछि अन्य विकट गाउँहरुमा पनि यो स्कुल स्थापना गरिदै लगिनेछ ।”
समता स्कुल कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापना गरिएको स्कुल हो । समता स्कुलमा अध्ययन गर्न भर्ना शुल्क जम्मा १५० रुपैयाँ बुझाउनुपर्छ भने प्रति महिना एक सय रुपैयाँ मात्र विद्यार्थीले बुझाउनुपर्छ । नर्सरीदेखि उच्च तहसम्म मासिक शुल्क एकसय रुपैया मात्र फि बुझाउनु पर्छ । अंग्रेजी माध्यमबाट पढाई हुने समता स्कुल सञ्चालनमा आएपछि नेपालमा हाल ४० हजार विद्यार्थी अध्ययनरत छन् ।
यस समता फाउण्डेसन र समता स्कुल सञ्चालनको संरक्षकमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य तथा डाक्टर उपेन्द्र महतो रहेका छन् । फाउण्डेसनको अध्यक्ष उत्तम सञ्जेल रहेका छन् । लाखौ रुपैया खर्च गरेर अन्य प्राईभेट स्कुलहरु अध्ययन गर्न वाध्य सर्वसाधारणको लागि यो स्कुल निकै प्रभावकारी हुने देखिएको छ । दिक्तेलमा स्थापना गर्न लागिएको यस स्कुलमा सुरुवाती चरणमा दुई सय वालवालिका भर्ना लिने तयारी छ ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य खुशनारायण सैंजुले दिक्तेलमा यो स्तरको समता स्कुल सञ्चालन हुँदा धेरै सर्वसाधारणलाई सहज हुने बताए । समता स्कुल सञ्चालनका लागि सकेको सहयोग उपलब्ध गराउने बताउँदै सैजुले समता फाउण्डेसनको यो निर्णय अत्यन्तै सह्रानीय भएको बताए ।
समता स्कुल सञ्चालनको लागि समन्वयकारी भूमिका खेलेका दिक्तेलका छत्र वजिमयले समता स्कुल सञ्चालनमा आएपछि धेरै वालवालिका तथा अभिभावकहरु लाभान्वित हुने उल्लेख गरेका छन् । उनि भन्छन् “मैले धेरै समयदेखि यो स्कुल दिक्तेलमा स्थापना गर्न पहल गरेको थिएँ, दिक्तेलकै पोखरी स्कुलमा सञ्चालन गर्ने उद्देश्य भए पनि सरकारी विद्यालयमा सम्भव देखिएन ।” हाल आएर छुट्टै ठाउँमा स्कुल खोलेर सञ्चालन गर्ने तयारी गरिएको छ बजिमयले भने, स्कुल स्थापना हुने भएपछि धेरै सर्वसाधारणलाई सहज हुनेभएको छ ।
समता फाउण्डेसनले स्कुलमात्र हैन अस्पताल पनि सञ्चालनमा ल्याएको छ । काठमाडौको बौद्धमा समता अस्पताल सञ्चालनमा छ भने उक्त अस्पतालमा पुग्ने हरेक विरामीले जम्मा एकसय रुपैयामा नै उपचार पाउँछन् ।
सुन्दै आश्चर्य लाग्ने यस अस्पतालबाट लाखौंले उपचार पाएका छन् । सामान्यदेखि जटिल प्रकारका विरामीहरु उपचारका लागि अन्य अस्पतालहरुमा लाखौं रुपैया खर्च गर्न वाध्य छन् तर, समता अस्पतालमा पुग्दा जम्मा एकसय रुपैयाँमानै उपचार हुने गरेको छ । यस अस्पताल स्थापनापछि निम्न आयस्तर भएकाहरुलाई सहज भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology