समायोजन खबर फागुन/२३ खोटाङ,
राष्ट्रिय पूनःनिर्माण प्राधिकरणले चासो नदिंदा जिल्लाका भूकम्प पीडितहरुको दोस्रो किस्ता निकासामा समस्या भएको छ । प्राधिकरणले इन्जिनियर नपठाउँदा भूकम्प पीडितलाई दोस्रो किस्ताको रकम भूक्तानी गराउन चरम समस्या भएको हो ।
ईन्जिनियर नआउंदा भुकम्प लाभग्राहीले पहिलो किस्ता ५० हजारभन्दा अन्य रकम पाउन सकेको छैन । डिपिसिको काम सकिएपछि दोस्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७५ हजार र शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने भएपनि ईन्जिनियर अभावमा पीडितहरु पहिलो किस्ता रकममै चित्त बुझाउन बाध्य बनेका छन् ।
केही गाउँपालिकामा ईन्जिनियर हालसम्म नपठाउँदा र फिल्डमा रहेका ईन्जिनियरलाई पनि कम्प्यूटर ट्याव नदिदां रकम निकासामा समस्या भएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताए । भुकम्प पीडितलाई दोस्रो किस्ता रकम वितरण गर्न कुनै समस्या छैन्, उनले भने, ‘बजेट प्रशस्त छ तर, प्राधिकरणले ईन्जिनियर नपठाएका कारण समयमा दोस्रो किस्ता वितरण गर्न सकिएको छैन् ।’ उहाँको भनाई छ ।
आवास पूर्ननिमार्णको काम सुरु गर्नका लागि पहिलो किस्ता वापतको रकम उपलव्ध गराईएपनि दोस्रो किस्ताको रकम समयमा उपलव्ध नगराएका कारण प्राधिकरणकोे आवास निर्माण कार्य बेमौसमी बन्दै गएकोे छ । भूकम्प पिडितले घर निर्माण कार्यका लागि प्राधिकरणले भने बमोजिमको काम गरेपनि रकम अभावमा निर्माणाधिन घरहरु अलपत्र बन्न थालेका छन् । पहिलो चरणको रकम प्राप्त भएपछि आवास निर्माणमा लागेका भूकम्प पिडितहरुको समयमा घरको मूल्याङकन नगरिनु र दोस्रो किस्तावापतको रकम भुक्तानी नहुनुले आवास निर्माणमा समस्या भएको भुकम्प पिडितहरुले गुनासो गरेका छन् ।
वराहापोखरी गाउँपालिका र एसेलुखर्क गाउँपालिकामा हालसम्म प्राधिकरणले ईन्जिनियर नपठाउँदा उक्त ठाउँका भूकम्प पिडितहरु पहिलो किस्ता रकम लिनबाट नै वञ्चित रहेका छन् । भुकम्पको चोट उनीहरु अझै भोग्न बाध्य बनेका छन् । २०७२ साल बैशाख १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये २९२ घर परिवारलाई आवास अनुदान वापतको पहिलो किस्ता रकम लिनबाट समेत बञ्चित बनाईएको छ ।
वडा सचिव र प्रशासकिय अधिकृतको वेवास्थाका कारण उक्त घर परिवारहरुले पहिलो किस्ताको रकम लिनबाट बञ्चित भएका हुन् । जिल्ला समन्वय समितिको कार्यालयबाट कतिपय भूकम्प पीडितहरु पहिलो किस्ता लिनबाट बञ्चित भएका कारण तत्काल गुनासो फारम भरेर आवश्यक कागजात पठाउँन अनुरोध गरिएको भएपनि वडा सचिव र प्रशाशकिय अधिकृतहरुले चासो नदिएका कारण उनिहरु पहिलो किस्ता रकम पाउँनबाट बञ्चित हुनु परेको फोकल पर्सन आचार्यको भनाई छ ।
यस्तै, बिदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि बिदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकालका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्ने लगायतका समस्याका कारण कतिपय भूकम्प पिडित परिवारले हालसम्म आवास अनुदान वापतको पहिलो किस्तानै पाउन सकेका छैनन् ।
आवास अनुदान वितरणपछि आवास निर्माण सुरु भए र नभएको विषयमा अनुगमनका लागि रकम विनियोजन नभएका कारण पनि अनुगमन पक्ष फितलो भएको पाईएको छ । महाभूकम्प गएको दुई वर्षपछि खोटाङमा गत जेठ १९ गतेदेखि भूकम्पीय आवास पुनर्निर्माणका लागि आवास अनुदान वितरण गर्न वल्ल तल्ल सुरु गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक ववि चाम्लिङले विभिन्न समस्याका कारण र प्राधिकरणले ईन्जिनियर नपठाएकाले रकम पेन्डिङमा रहेको हो । “भूकम्प पिडितका लागि दोस्रो किस्ता वापतको रकम दिने वातावरण तत्काल बनाउँन प्राधिकरणसंग पहल भईरहेको संयोजक चाम्लिङले बताए ।
भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये खोटाङमा सवैभन्दा बढि आवास अनुदान वितरण भएको दाबी गरिएको छ । जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ८ हजार १ सय ५१ घर परिवारलाई पहिलो किस्ताको प्रति परिवार ५० हजारका दरले ४० करोड ७५ लाख ५० हजार आवास अनुदान वितरण गरिसकिएको छ । योसंगै जिल्लामा पहिलो किस्तावापत ९७ प्रतिशत रकम वितरण भएको जनाईएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology