समायोजन खबर माघ/२२ खोटाङ,
प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । दुवै प्रदेशको बैठक अहिले बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकका लागि केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।
प्रदेश नम्बर १ को बैठक विराटनगरमा बस्ने छ भने प्रदेश नम्बर ४ को बैठक पोखरामा बस्दैछ । बैठकका लागि सबै तयारी पूरा भएको बताइएको छ । एक नम्बर प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।
आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् । त्यसैगरी पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक पनि आज बस्दैछ ।
बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्ने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।
त्यस्तै आजको बैठकले आन्तरिक कार्य्विधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् । संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । ७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको थियो ।हिमालय टाइम्स
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology