बैशाख ३१, २०७४ दोलखा: स्थानीय तहको पहिलो चरणको निर्वाचन अधिकांश स्थानमा शान्तिपूर्ण भए पनि दोलखामा भने तनावपूर्ण बनेको छ।

दोलखाका सातवटै गाउँपालिकामा स्थिति तनावपूर्ण रहेको छ। केही ठाउँमा गोली चलेको छ भने केही ठाउँमा मतदान केन्द्र नेकपा एमालेका कार्यकर्ताले कब्जामा लिएका छन्। मतदान रोकिएको ठाउँमा पुन: मतदान सञ्चालनको प्रयास भइरहेको छ। बैतेश्वर गाउँपालिका वैतेश्वर गाउँपालिकाको पुतलीकाठ मतदान केन्द्रमा एमालेका कार्यकर्ताले मतदान केन्द्र कब्जा गरेका छन्। स्थानीय मतदाताले बुथ कब्जा गरेर बसेका कार्यकर्तालाई प्रतिकार गरी भगाइदिएका छन्। प्रहरीले समेत बुथ कब्जा गर्नेलाई भगाउन चार रायण्ड हवाई फायर गरेको थियो। स्थानीयले हतियारधारीहरूसँग प्रतिकार गर्दा केही हतियारधारी र केही स्थानीय घाइते भएका छन्। प्रतिकारका क्रममा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन्, जसमा चार जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि चरिकोट लगिएको छ। बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा पनि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन्। उनीहरूको टाउको, हात र खुट्टामा चोट लागेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ। लालबहादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। किरण तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ। कांग्रेसले बुथ क्याप्चर गर्न लाग्यो भन्ने आशंकामा कांग्रेसका एजेण्टसहित मतदातालाई प्रहरी र एमाले कार्यकर्ताले लखेटेका थिए। त्यहाँ एमाले र कांग्रेस कार्यकर्ताबीच पटक पटक झडप भएपछि नेपाली सेनाको हेलिकोप्टरले गस्ती गरिरहेको छ। भुसाफेदा शैलुङ गाउँपालिकाको भुसाफेदामा कांग्रेस र एमालेका कार्यकर्ताबीच तनाव बढ्दै जाँदा मतदान स्थगित गरिएको थियो। दुई पक्षबीच विवाद बढ्दै जाँदा हात हालाहाल भएपछि प्रहरीले हवाई फायर गरेको थियो। केही समयअघि सबै पार्टीका प्रतिनिधिलाई राखेर चुनाव सुरु गरिएको छ। क्षेत्रपा वैतेश्वर गाउँपालिका- ८ क्षेत्रपामा एमाले र कांग्रेसबीच झडप भएको छ। झडपपछि मतदान स्थगित भएको थियो। पछि दलीय सहमतिमा निर्वाचन सुचारु गरिएको छ। तामाकोसी तामाकोसी गाउँपालिका- ५ को शहरे मतदान केन्द्रमा एमाले कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ। साविकको शहरे गाविसमा रहेको मतदान केन्द्रमा अर्काको नाममा मत हाल्न आएका फर्जी व्यक्तिलाई प्रहरीले रोक्न खोजेपछि एमाले कार्यकर्ता प्रहरीमाथि नैं जाइलागेका थिए। एमाले कार्यकर्ताले प्रहरी हवल्दारमाथि हातपात गरेपछि शहरेमा स्थिति तनावग्रस्त भएको छ। स्थिति तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागी एक महिला घाइते भएकी छन्। उनको देब्रे तिघ्रामा गोली लागेको छ। तामाकोसी गाउँपालिका- २, साबिकको झुले गाविसमा रहेको अमर उच्चमावि मतदान केन्द्रमा सशस्त्र प्रहरीको टोलीले मतदातामाथि लाठी चार्ज गरेको छ। नेपाली कांग्रेसले बुथ कब्जा गर्न लागेको भन्दै एमाले कार्यकर्ताले रिपोर्ट गरेको आधारमा सशस्त्रले मतदाता लखेटेको हो। तामाकोसी गाउँपालिका- ६, च्यामा मतदान केन्द्रमा एमालेका उम्मेदवारले मतदातालाई नै कुटेर घाइते बनाएका छन्। तामाकोसी गाउँपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका ईश्वरचन्द्र पोखरेलले शम्भु परियारको टाउको फुटाइदिएका छन्। विगु विगु गाउँपालिका- ६, आलम्पुमा पनि कांग्रेस र एमालेका उम्मेदवारबीच नै झडप भएको छ। साविकको आलम्पु गाविसमा रहेको थिम्पु स्कुल मतदान केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो। एमालेका कार्यकर्ताले मतदान केन्द्रमा मतदातालाई जान नदिएपछि झडप भएको थियो। दलीय सहमतिपछि विवाद टुंगिएको र मतदान सुचारु भएको छ। एमालेका उम्मेदवारहरूले बुथ छाडे एमाले दोलखाका अध्यक्ष तथा तामाकोसी गाउँपालिकाका अध्यक्षका उम्मेदवारले कांग्रेस र माओवादीले बुथ कब्जा गरेको आरोप लगाउँदै बुथ छोडेर हिँडेका छन्। यद्यपि, स्थानीय मतदाताहरूले भने मतदान गरिरहेका छन्। गौरीशंकर गौरीशंकर गाउँपालिकाअन्तर्गत पर्ने जुँगु र झ्याकुमा भने मतदान शान्तिपूर्ण रूपमा चलेको छ। यहाँ केही दिनअघि एमाले र माओवादी कार्यकर्ताबीच भएको झडपमा परेर एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो। एमाले कार्यकर्ताको मृृत्यु भएपछि प्रहरीको खोजिमा (वारेण्ट) रहेका माओवादी नेतृृ तथा पूर्वमन्त्री देवी खड्कासहित माओवादीका दर्जनौँ कार्यकर्ताले गाउँ छाडेका छन्। त्यहाँ माओवादीका ३९ जनालाई वारेन्ट छ। जुँगु र झ्याकुमा यूवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङ नेतृत्वको टोलीले माओवादी निकटका कार्यकर्तालाई मतदान गर्न जानबाट रोकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology