नेकपा (एमाले)को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा सबै राजनीतिक दल र कानुनी प्रक्रियालाई मिलाएर निर्वाचनमा जानुपर्ने र स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा निर्वाचन गर्नेपर्नेमा जोड दिएको थियो ।
बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन, निर्वाचन बिथोल्ने कुनै पनि कार्य हुन नदिन र पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचन अभियानमा लाग्न आह्वान गरेको छ ।
निर्वाचन मिति घोषणा हुनु स्वागतयोग्य–नेता खनाल
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मितिको स्वागत गर्नुभएको छ ।
इलामको साँखेजुङस्थित बञ्चरे गोलाइमा जापानी राजदूतावासको सहयोगमा स्तरोन्नति गरिएको सडकको आज उद्घाटन गर्दै संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन मिति स्वागतयोग्य रहेको बताउनाुभयो ।
उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ,’ अब मुलुक निर्वाचनतर्फ उन्मुख भएकाले स्थानीय निकायको निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्छ ।”
उहाँले भन्नुभयो, “वैशाख ३१ गते निर्वाचन सम्पन्न गरेर आगामी माघ महिनामा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, त्यसका लागि एमाले कटिबद्ध भएर अघि बढ्छ ।”
जापानी राजदूतावासको करिब एक करोडको लगानीमा बञ्चरे गोलाइबाट दुई किलोमिटर सडकको स्तरोन्नति भएको हो । रासस