• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खानीडाँडामा एयरपोर्ट बनाउँछु भन्दा पागल भन्थे

खानीडाँडामा एयरपोर्ट बनाउँछु भन्दा पागल भन्थे


समायोजन खबर
  • मंगलबार, बैशाख १८ २०८१

  • विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा प्रसाद घिमिरे।

    चिसाङ शेर्पा खोटाङ, गएको चैत १० गतेयता हप्ताको मंगलबार र शनिबार मनमाया राई खानीडाँडा विमानस्थलबाट काठमाण्डौ–खानीडाँडा उडान तथा अवतरण हुँदै आएको छ।

    खोटाङको सदरमुकामबाट सबैभन्दा नजिकको विमानस्थलदेखि यात्रा गर्ने यात्रुहरुलाई विमानस्थल कसरी बन्यो, कसरी नाम रह्यो भन्ने विषय थाहा नहुन सक्छ। यी विषयबारे चासो राखेका पाइन्दैन।

    विमानस्थल बनाउँदाको कष्टकर भोगाई र विमानस्थलको नामाकरण कसरी रह्यो भन्ने जानकारी दिदैछौ। खाल्लेमा विमानस्थल वनाउनुपर्छ,विमानस्थल बनाएर हवाईजहाजबाट काठमाण्डौ लगायत अन्य स्थानको यात्रा सहज गर्न सकिन्छ भन्ने धारणा २०५९ सालमा दिक्तेलका ५४ वर्षीय दुर्गा प्रसाद घिमिरेलाई आयो। घिमिरेलाई भन्दा अगाडी खाल्लेकै सर्वधन राईलाई एयरपोर्ट बनाउनुपर्छ भन्ने कन्सेप्ट आयो। तर, उनले पूरा गर्न सकेनन्।घिमिरेले आफ्नो अध्यक्षतामा विमानस्थल निर्माण उपभोक्ता समिति गठन गरे। विमानस्थल बनाउनुपर्छ भन्दै उनी जिल्लादेखि नेपाल नागरिक उड्यान प्राधिकरणको अड्डाहरु धाए, मन्त्रीहरुलाई बिन्ती बिसाए। तत्कालिन संस्कृति मन्त्री बल बहादुर केसी र राज्यमन्त्री सर्वधन राईको कार्यकालमा विमानस्थल बनाउने सैद्धान्तिक सहमति मिल्यो।

    एयरपोर्ट बनाउने कानुनि प्रक्रिया अघि बड्दै गयो । एयरपोर्ट बन्छ भनेर जिल्लाबासी कसैले पत्याएनन्।‘उल्टै बौलाहासम्म भने, पागल भन्थे’ घिमिरेले दुखेसो पोखे। हुदैन, बन्दैन भन्दा भन्दै लागेको, लाग्यै गरे। किनेर अनि मागेर प्राधिकरणको नाममा २०७ रोपनी जग्गा नै पास गरिदिए।
    विमानस्थल बनाउन प्रक्रिया अघि बढ्यो, २०७ रोपनी जग्गा पनि जुटाईयो। तर, विमानस्थलको धावनमार्ग बन्ने ठाउँको जग्गा लिन, किन्न त्यति सजिलो थिएन। किन कि त्यहाँ खाल्लेका सर्वधन राईको आमा मनमाया राईको समाधिस्थल(चिहान)थियो।

    स्वर्गीय मनमाया राईको नाती रुद्र राईसँग समाधिस्थल सार्ने र त्यहाँ धावनमार्ग बनाउने कुरा राखे । उहाँले(रुद्र राई मनमाया राईको नाती)ले समाधिस्थल सार्ने तर, विमानस्थलको नाम मनमाया राई राख्नुपर्छ भनेर अडान राखे। रुद्रको प्रस्ताव स्वीकार गरेर समाधिलाई विमानस्थलदेखि सय मिटर तल राख्यौं । उहाँको बजुको नामबाट विमानस्थलको नाम राख्ने भएपछि उहाँहरुले थप १८ रोपनी जग्गा पनि निशुल्क दिनुभयो । घिमिरेले भने, “त्यही कारण नै अहिले एयरपोर्टको नाम नै मनमाया राई खानीडाँडा विमानस्थल भएको हो।”
    विमानस्थल बनाउँन सैद्धान्तिक सहमति, धावनमार्ग बन्ने स्थलमा भएको मनमाया राईको समाधिस्थल अन्यत्र सार्ने सहमति भएर काम अघि बढ्दै गर्दा बजेट थिएन। संस्कृति मन्त्री बल बहादुर केसी र राज्यमन्त्री सर्वधन राई मन्त्रीबाट हट्नुभयो। हामीलाई ठूलो समस्या भयो। अरु कसैले पत्याउदैन थिए। राजाको शासनकाल आयो। राजाको कार्यकालमा बद्रीप्रसाद मण्डललाई गुहार्न गयौ।

    हामीलाई औजार दिनुहोस, खाद्यान्न दिनुहोस, जनश्रमदानबाट एयरपोर्ट खन्छौ भनेर भन्यौ। उहाँले त्यो कुरा पत्याउनु भएन। त्यतिकै, त्यतिकै यो हुदैन भनेर सबैले माया मारेको बेला बल्लबल्ल कुबेर शर्मा पर्यटन मन्त्री हुनुभयो। उहाँ वीरेन्द्र केशरीको आफन्त हुनुहुँदो रहेछ। उहाँको घरमा गयौ। उहाँले हाम्रो कुरै सुन्न मान्नुभएन। त्यसपछि हाम्रो जाने ठाउँ कही भएन। ठाउँ नै हरायो। घिमिरेले विगत सम्झिए।

    राजालाई बिन्तीपत्र र भेट्ने काम त दशौ, बिसौ पटक गरियो। त्यहाँबाट पनि केही पत्तो लागेन। कुबेर शर्माको पार्टी अफिस धाएर खोटाङगे जनतालाई धेरै मर्का परेको छ। एयरपोर्ट बनाउनलाई अलिकति पैसा हालिदिनुस बरु त्यहाँका जनताहरु तपाईको पार्टीमा संलग्न हुन्छन्। खोटाङगेहरुले अकालमा मृत्युवरण गर्नुपरिहेको छ भनेपछि उहाँ खुशी भएर दश लाख दिने निर्णय गरिदिनुभयो।
    उपभोक्ता समितिले प्राधिकरणले दिएको बजेट वरावर श्रमदान गर्नुपर्ने भयो। अनि सारा गाउँले मिलेर ५० लाखको श्रमदान ग¥र्यौ। दश लाख त्यो बजेट सकेर फेरी सर्वेन्द्रनाथ शुक्ला पर्यटनमन्त्रीलाई बजेट माग्न गयौ। शुक्लाले त काम नै भएको छैन, पैसा सबै तपाईहरुले खानुभएको छ। तपाईहरुलाई थुन्नुपर्छ समेत भने। तर हामीले ५० लाखको काम गरिसकेका थियौ।

    शुक्लालाई तपाई एयरपोर्ट हेर्नु हिड्नुहोस हामी हेलिकोप्टर रिर्जभ गर्छौ भन्दा उहाँ आउन मान्नु भएन। त्यस्तै, त्यस्तै धेरै, धेरै झन्झट र कष्ट खेपेर एयरपोर्ट बनायौ। घिमिरेले भने।
    घिमिरेको पहलमा स्थानीयको अन्दाजी १५ करोड श्रमदान र नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजारमा ५९० मिटर लम्बाई र २० मिटर चौडाई भएको विमानस्थल २०६० साल बैशाख २० गतेबाट काम थालेर २०६२ सालमा नेपाल एयरलाइन्सले परीक्षण उडान गरेको थियो। तीनवर्ष अघिबाट विमानस्थल कालोपत्रे भईसकेको छ।

    त्यो बेला एयरपोर्ट बनाउँछु भनेर हिड्दा पागल, बौलाहा भनेको संम्झदा अहिले कस्तो महशुष हुन्छ भन्दा घिमिरेले हास्दै गौरव लाग्ने बताउनुभयो। त्यो बेला दिक्तेलबजारमा हिड्दा कस्तोसम्म गिल्ला गर्दथ्यो भने उताबाट आउँदा पनि कालो प्लेन आयो, कालो प्लेन आयो भन्थे, यताबाट उता जाँदा पनि कालो प्लेन आयो, आयो भन्थे। शिर झुकाएर भुईतिर हेरेर हिड्थे, त्यतिसम्म खेपेर, सहेर, जसले जेसुकै भनोस म यो काम पुरा गर्छु भनेर लागेर नै त्यो पूरा भएको हो। घिमिरेले भने।

    https://www.facebook.com/samayojankhabar/videos/2729604737188536

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology