समायोजन खबर खोटाङ, किरात राई समुदायको उदगमथलो तुवाचुङ जायजुममा सभ्यताको श्रृष्टिकर्ताहरु तयामा, खियामा, रैछाकुले र तीनचुलाको विधिगत पूजा गरेर ‘तुवाचुङ डे’ अर्थात साकेला उभौली चाड भव्यरुपमा मनाईएको छ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको सीमानामा अवस्थित तुवाचुङ जायजुममा जेठ १७ गते धामी नछुङबाट तीनचुलासहित तयामा, खियामा र रैछाकुलेको पूजा गरी साकेला सिली नाचेर तुवाचुङ डे मनाईएको हो।
बैशाखे पूर्णिमापछिको औसी र औसीको पञ्चमी तिथीमा तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा प्रत्येक वर्ष ‘तुवाचुङ डे’ अर्थात साकेला उभौली मनाईदै आएको छ। 
‘तुवाचुङ डे’मा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला प्रमुख अतिथिका रुपमा तुवाचुङ जायजुममा आउनुभएको थियो। किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थल तुवाचुङ जायजुमलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र विकासका लागि गर्नुपर्ने सबै प्रयास गर्न आफू लागि पर्ने कोइरालाले प्रतिवद्धाता जनाउनुभयो।
त्रि–धार्मिकस्थल हलेसीभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपालसहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पूजाआजाका लागि आउने गरेको संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभयो।
कांग्रेस वरिष्ठ नेता कोइरालाले उद्घाटन गर्नुभएको तुवाचुङ ‘तुवाचुङ डे’को अवसरमा बृहत साकेला सिली प्रदर्शनीमा उदयपुरसहित खोटाङका विभिन्न स्थानबाट १३ टीमले सहभागिता जनाएको थियो।
सहभागी १३ टीमले ढोल र झ्याम्टाको तालमा गोलो घेरामा साकेला सिलीसहित साकेला गीत गाउँदै तुवाचुङ जायजुमडाँडा गुञ्जाएका छन्।
उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्र थापा लगायतको उपस्थिति थियो।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology