समायोजन खबर खोटाङ,खोटाङको रावाबेसी गाउँपालिका–२ खार्पामा खार्पा प्रहरी चौकीको नवनिर्मित पक्की भवन उद्घाटन गरिएको छ। तत्कालिन खार्पा गाउँविकास समितिको पुरानो भवनमा बस्दै आएको खार्पा प्रहरी चौकीको नवनिर्मित भवन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले उद्घाटन गर्नुभएको हो।
भ्याटसहित २ करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवनको प्रहरी नायव महानिरीक्षक अधिकारीले आईतबार रिवन काटेर औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ।
२०६९ सालमा स्थापना भएको खार्पा प्रहरी चौकी नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताउनुभयो।
खार्पा प्रहरी चौकीको नवनिर्मित भवन। तस्विर,राजकुमार भट्टराई।
सानो ठुलो गरी ११ वटा कोठे साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षसहित एटेज शौचालय, महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवास, मनोरञ्जन हल लगायतका कोठाहरु निर्माण गरिएको छ। भवनसँगै किचन र शौचालय पनि निर्माण गरिएको छ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले उक्त क्षेत्रको सुरक्षाको स्थायित्वको लागि नवनिर्मित भवनले अहम भूमिका निर्वाह गर्ने विश्वास रहेको बताउनुभएको छ। विशेष गरी पहाडी क्षेत्रमा प्रहरीले समाजमा हुने अपराध रोकथात तथा नियन्त्रण गर्ने मात्र नभएर अहिले विभिन्न प्राकृतिक एवं अप्राकृतिक विपतहरु पनि रोकथाम तथा नियन्त्रण गर्नु पर्ने उहाँको भनाइ छ। जसकारण यस्ता सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा गर्न मनोवल बढ्ने उहाँले बताउनुभयो।
जब समाजमा सुरक्षा हुन्छ तब मात्र समाजको उन्नति प्रगति हुने भएकाले समाजलाई सुरक्षित बनाउन प्रहरी मात्र नभएर सबै समुदायका नागरिक पनि एक ठाउँमा उभिन आवश्यक रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताउनुभयो।
भवन उद्घाटन कार्यक्रममा रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कोशिला कुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो। पत्रकार राजकुमार भट्टराईको सहयोगमा।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology