समायोजन खबर, महान्यायाधिवक्ता रमेश बडालले जिल्ला कारागार खोटाङको निरीक्षण गर्नुभएको छ। बुधबार साँझ बडालले जिल्लाका सुरक्षा प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख तथा वैतनिक कानून व्यवसायीसहित कारागारको वस्तुस्थितिका बारेमा निरीक्षण गर्नुभएको हो।
कारागारको निरीक्षणपछि कैदीबन्दीलाई गुनासो राख्न आग्रह गर्नुभएका महान्यायाधिवक्ता बडालसामू कैदीबन्दी डम्बर बहादुर कार्कीले कैदीबन्दीले बर्खामा खोलाको धमिलो पानी पिउनुपर्ने, अदालत/अस्पताल टाढा भएको, अस्पताल/अदालत जानआउन गाडीको व्यवस्था नहुँदा महिनौ कुजिएर बसेकालाई हिड्न गाह्रो हुने गरेको, बर्खामा पानीले भिजाउने गरेको, अधिकांश मुद्दाहरु उच्च र सर्वोच्च पुग्दा पनि सदर हुने गरेको लगायतका गुनासो राखेका थिए।
कैदीबन्दीको गुनासो सुन्नुभएका बडालले कारागार जीर्ण भएकाले त्यसको मर्मत तथा पुननिर्माण गर्नुपर्ने र खोलाबाट तानेर ल्याएको खानेपानीमा समस्या भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो।
‘कारागारका लागि महान्यायाधिवक्ताको कार्यालयले गर्नुपर्ने काम हामी गर्छौ। सम्बन्धित निकायबाट गर्नुपर्ने कामहरुमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनेछु।’ बडालले भन्नुभयो।
कैदीबन्दीको मानव अधिकारको स्थिति हेर्ने र कैदीबन्दी जीवनभित्र गर्नुपर्ने यथोचित व्यवहार भएको छ/छैन भन्ने जिम्मेवारी अन्तर्गत कारागारको निरीक्षण गरिएको बडालको भनाई छ। उहाँले आजै जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको पनि निरीक्षण गर्नुभएको छ।
महान्यायाधिवक्ताको कार्यालय समाजमा अपराध भईसके पछाडी अपराधलाई नियन्त्रण गर्न मुद्दा दायर गर्ने, अभियोजन गर्ने र सरकारकातर्फबाट प्रतिरक्षा गर्ने महत्वपूर्ण संवैधानिक अंग हो। जिल्ला कारागारमा १११ जना पुरुष कैदी, दुईजना महिला कैदी र ४७ जना वन्दी पुरुष रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology