Samayojan khabar

Advertisment

SKIP THIS

स्कुलबाट सात वर्षपछि पक्की भवनमा वराहपोखरी गाउँपालिका

स्कुलबाट सात वर्षपछि पक्की भवनमा वराहपोखरी गाउँपालिका


समायोजन खबर
  • शुक्रबार, माघ ११ २०८१

  • वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवनको उदघाटन गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ,खोटाङको वराहपोखरी गाउँपालिका सात वर्षपछि पक्की भवनमा सरेको छ। संघीय संरचना कार्यान्वयनमा आएपछि विद्यालयको भवनबाट कामकाज थालेको गाउँपालिका अन्ततः सात वर्ष, सात महिनापछि पक्की भवनमा सरेको हो।

    २०७४ को स्थानीय तहको निर्वाचनपछि कार्यान्वयनमा आएको गाउँपालिकाले सुरुवातमा जनबिकास माध्यमिक विद्यालय साउनेचउरमा कार्यालय खडा गरेर करीव एक वर्ष, त्यसपछि बालकन्या माध्यमिक विद्यालय फाक्टाङ धर्तुङबजारमा कार्यालय व्यवस्थापन गरेर दुई वर्ष सेवा प्रवाह गरेका थिए।

    त्यसपछि फाक्टाङको बाघखोर भन्ज्याङमा प्रीफ्याक बोर्डको भवन निर्माण गरी करीव पाँच वर्ष सेवा प्रवाह गरेको गाउँपालिका अन्ततः नयाँ भवनमा सरेको हो।वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवनको उदघाटन गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई।

    गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा कूल ६ करोड १० लाख ४५ हजार ६९४ रुपैयाँ २६ पैसामा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले नियम अनुसार म्याद थप गरेर गत मंसिर ३० गते भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले जानकारी दिए। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको हो।

    ४२६.२ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६/६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो(टप)तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताए। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टा छुट्टै शौचालय छन्। आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आव्हान भई २०७८ कार्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु गरिएको थियो।

    गाउँपालिकाको केन्द्र फाक्टाङस्थित धर्तुङमा निर्माण सम्पन्न सुविधायुक्त भवनको शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उदघाटन गरेका छन्।

    गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेशकुमार राउत, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम बहादुर खड्का र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology