खोटेहाङ गाउँपालिकाले गर्‍यो अर्धवार्षिक सार्वजनिक सुनुवाई

खोटेहाङ गाउँपालिकाले गर्‍यो अर्धवार्षिक सार्वजनिक सुनुवाई

अनलाईन लोगो



समायोजन खबर खोटाङ,

खोटाङको खोटेहाङ गाउँपालिकाले प्रथम अर्धवार्षिक सार्वजनिक सुनुवाई गरेको छ । अधिकांश स्थानीय तह सार्वजनिक सुनुवाईबाट पन्छिइरहेकाबेला खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को प्रथम अर्धवार्षिक प्रगतीका विषयमा सोमबार सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाबाट सम्पादित कामको बारेमा नागरिकलाई सुसूचित गराउँदै मूल्यांकन गर्न, गाउँपालिकामा सञ्चालित विकास कार्यक्रम, उपलव्ध सेवा, वस्तु र सुविधा वारे सार्वजनिक गर्दै त्यस विषयमा उठेका प्रश्नमा स्पष्टता ल्याएर र रचनात्मक सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

खोटाङबजारमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गरेपछि सवाल–जवाफको श्रृंखला सुरु भएको थियो । कार्यक्रममा खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका लोकराज ढकालले वैदेसिक रोजगार, कृषि र पशु विकासको बजेट वितरणका विषयमा प्रश्न गरेका थिए । यस्तै, खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेले विद्यालयमा शिक्षकको दरबन्दी मिलान नगरिनुको कारण बारे प्रश्न सोधेका थिए । यस्तै, शिक्षक देवचन्द्र ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका बारेमा जिज्ञासा राखे । सहभागीका भीडबाट उभिएर अर्का सहभागी बिनोद बिश्वकर्माले खेल क्षेत्रको बिकासमा गाउँपालिकाको ध्यान पुग्न नसकेको भन्दै गाउँपालिका अध्यक्ष राईको ध्यानाकर्षण गराएका छन् । मञ्चमा जवाफदेहीपक्ष भएर बसिरहेका गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत हरि भट्टराई, गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुयाँल, ९ वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुख लगायतले आ–आफुसँग सम्वन्धित प्रश्नको जवाफ दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा प्रदायक पक्ष र सेवाग्राहीबीचमा करिब ५ घण्टा दोहोरो सम्वाद भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले चालु आर्थिक वर्षको कुल बजेट ३६ करोड ५५ लाख ४९ हजार ३५० मध्ये हालसम्म २४.३ प्रतिशत खर्च भएको जानकारी दिएका छन् । ८ करोड ८८ लाख २१ हजार ४१८ रुपैयाँ (२४.३ प्रतिशत) खर्च हुँदा २७ करोड ६७ लाख २७ हजार ९३१ मौज्दात रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राईले हालसम्म गाउँपालिकाको पिचुलीटार, सावाकटहरे, इन्द्रेणीपोखरी लगायतका ११ वटा खेल मैदान निर्माण सम्पन्न भएको, लिकुवापोखरी–वाप्लुखा, सावा–बड्का–खोटाङबजार सडक, इन्द्रेणीपोखरी–चिप्रिङ लगायतका ४३ वटा सडक मर्मत तथा स्तरोन्नती गरिएको, रोक्सिङभञ्ज्याङ–भिरखर्क–वाप्लुखा सडक, बड्का–सावा–वाप्लुखा–लिकुवा सडक, खोटाङ–मेर्ला सडक, रामबोले–बुधेधारा सडक, चैनपुर–कालापानी खोटाङबजार लगायतका ४६ वडा सडक ट्र्याक खोलिएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तै, गाउँपालिकाका ९ वटा वडामध्ये ६ वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको, खोटेहाङ गाउँपालिका–२ र ९ बाहेकका वडामा स्थास्थ्यचौकीको सुबिधा सम्पन्न भवन निर्माण गरिएको, गाउँपालिकाका अधिकांश वडामा विद्युत विस्तारको काम भएको जानकारी दिइएको छ । हालसम्म २४ वटा ऐन, कार्यविधि र निर्देशिका बनाइएको, लेखा शाखामा सुत्र कार्यान्वयन गरिएको, स्वास्थ्य संस्थाको रिपोर्टिङका लागि डिएचएमआइएस–टुको प्रयोग गरिएको, टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको लगायतका प्रगती भएको विवरणमा उल्लेख छ ।
कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, नेकपा गाउँपालिका अध्यक्ष राजन ढकाल, कांग्रेस गाउँपालिका सभापति प्रेमकुमार थापा, ईलाका प्रशासन कार्यालयका प्रमुख मनस राई, खोटाङ क्याम्पसका प्रमुख कुमार पराजुली, नेपाल शिक्षक महासंघ गाउँपालिका अध्यक्ष सन्तोष ढकाल, महिला महिला मञ्चकी सचिव भीमा ढकाल लगायतले बोलेका थिए ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology