किर्ते गर्ने/गराउनेलाई कार्वाहीका लागि ढिलाई नगर्न कांग्रेसको माग

किर्ते गर्ने/गराउनेलाई कार्वाहीका लागि ढिलाई नगर्न कांग्रेसको माग




चिसाङ शेर्पा खोटाङ,
नेपाली कांग्रेसको छायाँ सरकारले प्रकृयागत उपभोक्ता समितिलाई मान्यता नदिइ किर्ते गरी नक्कली कागजात बनाई उपभोक्ता समिति गठन गर्ने/गराउनेलाई तत्काल कार्वाहीको माग गरेको छ । प्रदेश सरकारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा परेको योजनामा किर्ते गरी समिति गठन गर्ने र उक्त समितिलाई सम्झौता सिफारिस दिनेसम्मलाई यथाशिघ्र कार्वाही गर्न स्थानीय प्रशासन र सरोकारवाला सरकारी निकायसँग जोडदार माग गरेका हुन् ।

संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भुतेडाँडा देखी आर्युवेदिक अस्पतालसम्म एकीकृत वस्ती विकास तथा पूर्वाधार निर्माण र अन्य सार्वजनिक निर्माण’ उपभोक्ता समिति गठन प्रक्रियामा किर्ते भएको पाइएपछि नेपाली कांग्रेसको छायाँ सरकारले गैर कानुनी कार्य गर्ने कार्यमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, कर्मचारी सीताराम खतिवडा र कार्यपालिका सदस्य रमेश परियार लगायतलाई शिघ्र कार्वाही गर्न प्रशासन र सरोकारवाला सरकारी निकायसँग जोडदार माग गरिएको छायाँ सरकार प्रमुख तीर्थराज भट्टराईले बताए । बिहीबार पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरी किर्ते गर्ने/गराउने सवैलाई तत्काल कार्वाही गर्नुपर्ने भट्टराईले बताए ।

३० लाख बजेट भएको योजना संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट २३ मंसिर (च.न ४६०)मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्र आए पनि युवराज आचार्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति मंसिर ६ गते गठन भएको पाइएको र त्यहाँ कोषाध्यक्ष पदमा राखिएको हिरा आचार्य चौहानको हस्ताक्षर किर्ते पाईएपछि कांग्रेस र उसको छायाँ सरकार बेतिथि विरुद्ध उत्रेको हो । गैर कानुनी कार्यको प्रमाणसहित प्रशासनमा (पुस १८ गते) ज्ञापनपत्र बुझाइएकाले संलग्नलाई शिघ्र कार्वाही नगरिए जनताले प्रतिकारपूर्ण बल प्रयोग गर्ने बाध्यकारी सिर्जना हुने परिस्थिती अग्रिम आँकलन गर्दै पार्टीको छायाँ सरकारले उचित र न्यायपूर्ण मागहरुको जनतासँग मिलेर नेतृत्व प्रदान गर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकृयागत रुपमा भएको उपभोक्ता समितिलाई लत्याउदै अधिकारको ठाडो दुरुपयोग गर्ने जो सुकैलाई नेपाली कांग्रेसले नछोड्ने महासमिति सदस्य सुवासकुमार पोखरेलले बताए । प्रदेश सरकारको योजनामा त यस्तो मनपरी छ, आन्तरिक योजनामा कती मनपरी होला ? पत्रकार सम्मेलनमा पोखरेलले प्रश्न राखे ‘त्यसैले अब लोकतन्त्र, पारदर्शिता र सामाजिक न्यायका लागि नागरिक अधिकार र भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु हुन्छ ।’

प्रदेशको योजना परेपछि नगरपालिकाले वडा नं. १ दिक्तेलमा ३० मंसिरमा उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ को दफा ४ बमोजिम ७ दिन अगावै सुचना प्रकाशन गरेर उपभोक्ता समिति गठन गर्नलाई पत्रचार गरेको र वडाले ३० मंसिरमा उपभोक्ता समिति गठनका लागि सार्वजनिक सुचना प्रकाशित गरेर ९ पौषमा भवप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको थियो । सोही उपभोक्ता समिति सम्झौता लागि नपामा सिफारिस लिन जाँदा अर्कै उपभोक्ता समिति गठन भई सम्झौता गर्न विराटनगर पुगेको पत्ता लागेको थियो । विवाद सिर्जना भएपछि नगरपालिकाले भने दुबै समितिलाई स्थगित गरेर नयाँ उपभोक्ता समिति बनाउने यसअघि नै बताइसकेको छ । यद्यपी, व्यवहारमा भने देखिएको छैन ।
२०७६ पौष २४ गते साँझ ७ :५३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology