Samayojan khabar

Advertisment

SKIP THIS

विकासमा चरम लार्पबाही : बनेको ७ महिनामै भत्कियो पर्खाल

विकासमा चरम लार्पबाही : बनेको ७ महिनामै भत्कियो पर्खाल




समायोजन खबर खोटाङ,
दिक्तेलस्थित माटिकोरे खेल मैदानको भित्तामा निर्माण गरिएको पर्खाल निर्माण गरिएको ७ महिनामै भत्किएको छ । खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाखभन्दा बढिको खर्चमा गत पुसमा निर्माण गरिएको पर्खाल वर्षाका कारण असार मसान्त ननाघ्दै भत्किएको हो ।

             माटिकोरे खेलमैदानमा बनेको सात महिनामै भत्किएको पर्खाल । तस्बिर चिसाङ शेर्पा

२०७५ साल पुस १९ गते पूरा गर्ने गरी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २०७५ साल बैसाख ७ गते सो पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले समय अवधिमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरेपनि गुणस्तरिय काम नहुँदा निर्माण गरिएको केही समयपछि नै पर्खाल ढलेको स्थानीय बताउँछन् । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेको छ ।


खेलमैदानको भित्तामा पर्खाल ठड्याउनका लागि ३१ लाख २२ हजार ९८४ रुपैयाँ बजेट भए पनि शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २७ लाख १ हजार ५५८ रुपैयाँमा ठेक्का लिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए । साविकको सदरमुकाम तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरका विषयमा प्रश्न उठेको छ । जिल्लाका अधिकांश खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएको खेलमैदानको पर्खाल ठडिएको केही समयपछि नै चर्किन थालेको थियो । खेलमैदानमा निर्माण गरिने पर्खाल दर्शक बस्न मिल्नेगरी स्टेप प्याराफिट राखेर बनाउन भनिए पनि आफुखुसी बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

निर्माण कम्पनीले कमसल सामग्री प्रयोग र गुणस्तरहिन काम गर्दा राज्यको रकम झ्वाम भएको स्थानीयको गुनासो छ । पर्खाल भत्किएर खेल मैदानमा थुप्रिएपछि खेलकुदका गतिविधि सञ्चालनमा समेत असहज भएको छ । ढलेका पर्खाल पन्छाउन र पुःन ठड्याउन राज्यको उत्तिकै रकम खर्च हुने देखिएको छ ।
२०७६ साउन १६ गते साँझ ७ :०७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology